जुम्लाका १८ जना कोरोना जितेर घर फर्किए

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनबाट १८ जना कोरोना जितेर घर फर्किएका छन् । कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टिनमा बसेका व्यक्तिलाई कोरोना सङ्क्रमण भएको थियो ।

उनीहरुलाई आइसोलेसनमा उपचारपश्चात पुनः पिसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि सोमबार साँझ घर पठाएको प्रतिष्ठानका अस्पताल निर्देशक चिकित्सक मङ्गल रावलले बताउनुभयो । प्रतिष्ठानका चिकित्सक धिरज गुरुङले कोरोना जितेर घर फर्कँदै गरेका नागरिकलाई तीन साता होम क्वारेन्टिनमा बस्न सुझाउनुभयो । उहाँले भन्नुभयो, “घरमा सामाजिक दूरी कायम गर्नु, चुरोट र रक्सीबाहेक अरु खानेकुरा बार्न पर्दैन । आफू सचेत हुन आवश्यक छ ।”

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले कोरोना भाइरसलाई जितेर घर फर्कँदै गरेका नागरिकलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईँहरुका साहसले अरुको साहस बढ्छ । अहिले जुम्लाबाट खुशीको सन्देशले अरु नागरिकलाई पनि कोरोना भाइरससँग लड्न सक्ने क्षमता पैदा भएको छ ।” प्रमुख जिल्ला अधिकारी थापाले चिकित्सकको सुझावलाई मनन गर्दै तीन हप्ता होम क्वारेन्टिनमा बस्न आग्रह गर्नुभयो । आफ्नो स्वास्थ्यको ख्याल गर्दै अन्य नागरिकलाई पनि सचेतीकरण गर्न उहाँले सुझाउनुभयो ।

 

सिरहाका २० घर फर्किए

सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालबाट २० जना कोरोनालाई जितेर मङ्गलबार घर फर्किएका छन् । उक्त अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका २६ मध्ये एकै दिन २० जना कोरोनाबाट मुक्त भएर घर फर्किएको अस्पतालका मेसु डा सुभाष मण्डलले जानकारी दिनुभयो ।

विभिन्न मितिमा कोरोना सङ्क्रमण पुष्टि भई अस्पतालको आइसोलेसनमा उपचार भइरहेकामध्ये सिरहाका १९ र सप्तरीका एक जना उपचारपश्चात निको भएर घर फर्किएको उहाँले जानकारी दिनुभयो । निको भएकालाई अस्पतालका मेसुसहित चिकित्सकले फूलमाला लगाएर घर पठाउनुभएको थियो ।

बाँकी छ जनाको पनि स्वास्थ्य अवस्था समान्य रहेको र उहाँहरु पनि केही दिनभित्रै उपचारपश्चात घर फर्किने मेसु डा मण्डलको भनाइ छ । यस्तै एकै दिन सिरहामा थप १२ कोरोना सङ्क्रमित थपिएका छन् । विभिन्न गाउँपालिकामा मङ्गलबार थपिएका सबै सङ्क्रमितलाई सो अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईँले जानकारी दिनुभयो ।

सिरहा नगरपालिकाका १०, सुखीपुर नगरपालिका र बरियारपट्टी गाउँपालिका एक–एक गरी १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रजिअ गुरागाईँले बताउनुभयो । योसँगै सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या ६१ पुगेको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments