मुक्केबाज एन्थोनीको आक्रोश : रंगभेदी व्यवहार कोरोनाभन्दा ठुलो महामारी हो 

लन्डन : चर्चित ब्रिटिस मुक्केबाज एन्थोनी जोसुआले रंगभेदी व्यवहारप्रति कडा टिप्पणी गरेका छन् । ३० वर्षीय बक्सर जोसुआले रंगभेदी व्यवहारलाई कोरोना भाइरसभन्दा पनि खतरनाक महामारीको संज्ञा दिएका छन् । हालै अमेरिकामा भएको काला जातिका नागरिक जर्ज फ्लोयडको हत्याको विरोधप्रति ऐक्यबद्धता जनाउँदै उनले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् ।

जोसुआ विश्व हेभिवेट च्याम्पियन मुक्केबाज हुन् । ब्रिटेनको वाट्फोर्डमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै जोसुआले विश्वको कुनै पनि कुनामा हुने रंगभेदी व्यवहार गम्भीर प्रकृतिको रोगको महामारीभन्दा पनि खतरनाक भएको धारणा व्यक्त गरे । वाट्फोर्ड उनको गृहनगर पनि हो ।

‘यो भाइरस झनै खतरनाक हुन्छ । यो अनियन्त्रित स्वभावको पनि हुन्छ’, विरोधसभालाई सम्बोधन गर्ने क्रममा निकै आक्रोशित रूपमा प्रस्तुत भएका मुक्केबाज जोसुआले भनेका छन्, ‘तपाईंहरूले बुझ्नुभयो होला । अहिले म कोरोना भाइरसको विषयमा कुरा गरिरहेको छैन । यहाँ म जातीय विभेद र रंगभेदी व्यवहारको कुरा गर्दैछु ।’

जोसुआ इन्टरनेसनल बक्सिङ फेडरेसन (आईबीएफ), वल्र्ड बक्सिङ एसोसिएसन (डब्लूबीए) र वल्र्ड बक्सिङ अर्गनाइजेसन (डब्लूबीओ) च्याम्पियन खेलाडी पनि हुन् । ‘जातीय र रंगभेदी व्यवहारको कुनै भौगोलिक सीमा हुँदैन । यस्ता दुर्भाग्यपूर्ण घटनाको विरोधमा ओर्लनु हामी सबैको नैतिक दायित्व हो’, उनले भनेका छन्, ‘यो भाइरसले धनी—गरिब र युवा—वृद्ध केही चिन्दैन ।’

सभालाई सम्बोधन गर्नुअघि जोसुआ केही समय विरोध जुलुसमा पनि सहभागी भएका थिए । जुलुसमा केही समय पैदल हिँडेका उनी त्यसपछि स्कुटरमा चढेका थिए । यसै साता अभ्यासका क्रममा उनको बायाँ घुँडामा चोट लागेकाले उनी लामो समय हिँडन सकेनन् । उनको घुँडाको उपचार अझै जारी छ ।

गत मे २५ तारिखमा मिनियापोलिस राज्यमा प्रहरीद्वारा ४६ वर्षीय फ्लोयडको हत्या भएपछि विगत केही दिनदेखि अमेरिकामा त्यसको व्यापक विरोध हुँदै आएको छ । हत्याको विरोधमा प्रदर्शनकारीहरू सडकमा ओर्लिएका छन् । विरोध प्रदर्शनले अमेरिकाको थुप्रै राज्यमा उग्र रूप लिएको छ । विश्वका अन्य राष्ट्रमा पनि उक्त घटनाको चर्को विरोध हुँदै आएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments