काठमाडौं : नेपालको पश्चिमी सीमाबाट छिर्ने प्रयासमा रहेका सलह किराको संकट तत्काललाई टरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विनाशकारी फट्यांग्रा भारतबाट नेपालमा तत्कालका लागि प्रवेश गर्न नसक्ने दाबी गरेको छ।
मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सलह किराका लागि प्रतिकूल मौसम सुरु भएकाले नेपालमा तत्काल यसको संकट टरेको दाबी गरेको छ। सलह फट्यांग्राको प्रवेश रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले गठन गरेको कार्यदलका संयोजक तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार नेपालमा यसको प्रवेश तत्कालका लागि टरेको हो।
मनसुनी वर्षा सुरु भएसँगै नेपालमा यो फट्यांग्राको प्रवेश रोकिएको हो। उक्त फट्यांग्राको एक बथान अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको थियो। अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको थियो। भारतको दिल्ली, उत्तर प्रदेश, मध्यप्रदेश, महाराष्ट्रलगायत स्थानमा यसको बथान प्रवेश गरिसकेको अवस्थामा नेपालमा पनि पश्चिमी सीमाबाट छिर्ने सरकारले पूर्वअनुमान गरेको थियो।
तर पछिल्लो समय सुरु भएको मनसुनी वर्षा र सलहको बथान उत्तरबाट दक्षिणतर्फ आउने क्रममा स–साना टुक्रामा विभाजित भएर भारततर्फ मोडिएकाले नेपालमा तत्काल आउने सम्भावना टरेको बताइएको छ । सुख्खा खडेरी मौसम, पानी नपरेको र हावाको बेगले साथ दिएको अवस्थामा मात्रै यो फट्यांग्रा नेपालमा आउन सक्ने नत्र यसको संकट टरेको जनाइएको छ । हावा पनि पूर्वबाट पश्चिमतर्फ बग्न थालेकाले नेपालको प्रवेशमा यसको रोक लागेको हो। हावा जता बग्छ, त्यतैतर्फ यसको बथान पनि त्यतैतिर उड्ने गर्दछ ।
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन ९एफएओ० का अनुसार एक वर्ग किमि क्षेत्रमा फैलिएर बस्ने एउटा बथानमा झन्डै चारदेखि आठ करोड फट्यांग्रा हुन्छन्। फट्यांग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञहरूले बताएका छन्। यो एक दिनमा ५ सय किमिसम्म बथानमै उठान भर्छ र आफ्नो गन्तव्यमा पुगेर जमिनमा ओर्लन्छ।
यो फट्यांग्राले सम्पूर्ण कृषि बालीको बोटबिरुवा, फूल, डाँठ, डाँठको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने सम्भावना हुन्छ ।

नेपालमाला
