काठमाडौं : बिहीबार थप एक सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसहित नेपालमा संक्रमितको संख्या एक हजार ४२ पुगेको हो।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्यामा कोरोना पोजिटिभ देखिएको हो। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६० हजार ६ सय ९६ र आरडीटी विधिबाट एक लाख दुई हजार ३४ जनाको नमुना परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा पीसीआर दुई हजार चार सय १९ र आरडीटी विधिबाट एक हजार सात सय ४७ नमुना परीक्षण गरिएको छ। अहिलेसम्म कुल १८७ जनाले कोरोना जितेका छन्। जसमध्ये १४४ पुरुष र ४३ महिला छन्।
प्रवक्ता देवकोटाका अनुसार अहिले क्वरेन्टाइनमा ८६ हजार ५७ जना छन् भने आठ सय ५० जनाको आइसोलेसनमा उपचार भइराखेको छ। आजमात्र नेपालमा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएभएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको छ ।
प्रदेश १ मा निको भइ घर फर्किएका ३० जना छन् । त्यस्तै प्रदेश २ मा १०१, प्रदेश ३ मा ११, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३८ र सुदूरपश्चिममा ५ जना निको भएर घर फर्किएका छन् ।
देशभर ८५९ जना आइसोलेसनमा उपचाररत छन् । प्रदेश १ मा ९९ जना, प्रदेश २ मा ३१३ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा १५ जना, प्रदेश ५ मा ३२९ जना, कर्णाली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा १६ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

नेपालमाला
