अधिकार र कर्तव्यको सन्तुलनले गणतन्त्रलाई सार्थक तुल्याउँछ : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ गणतन्त्र दिवसका अवसरमा सन्देश दिँदै अधिकार र कर्तव्यको न्यायोचित सन्तुलनले नै गणतन्त्रलाई सफल र सार्थक तुल्याउने बताएका छन् । सरकारको प्रयास गणतन्त्रलाई हरेक हिसाबले परिपूर्ण बनाउने कुरामा केन्द्रित रहेको उल्लेख गर्दै उनले सन्देशमा जनता साँचो अर्थ सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय तथा महान् उत्सवको दिन भएको स्मरण गरेका छन् ।

“गणतन्त्र गणहरुमार्फत अर्थात् जनतामार्फत जनताको तन्त्र हो । जनतालाई केन्द्रविन्दुमा राखेर, जनताको इच्छामा र जनताका लागि सञ्चालित हुने शासन व्यवस्था हो । संविधान र कानूनमा उल्लेखित अधिकारको प्रयोग गर्न सक्ने गरी जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थक रूप लिन सक्दैन”, प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “गणराज्य नेपाली समाजको मौलिक प्रणाली होे । तर, समयक्रममा यो प्रणाली भत्कियो । सामन्तवादको थालनीसँगै जन्मसिद्ध श्रेष्ठताका आधारमा शासकहरु स्थापित हुने, उनीहरुको वंश परम्पराका आधारमा शासन व्यवस्था सञ्चालन हुने र उनीहरुको हुकुम नै कानून हुने चरम अलोकतान्त्रिक प्रणालीहरु स्थापित र विकसित हुँदै गए । झण्डै दुई हजार वर्षसम्म चलेको यस्तो सामन्ती प्रणालीलाई अन्त्य गरेर हामीले इतिहासको एउटा महत्वपूर्ण कडीलाई जोडेका छौँ, र विकास गरेका छौँ ।”

उनले हाल नेपालमा कुनै पनि स्वरुपको अनिर्वाचित सत्ताको अन्त्य भइ जनताले निर्वाचित गरेका प्रतिनिधिद्वारा प्रतिपादन गरिएको संविधानद्वारा मुलुकको शासन व्यवस्था सञ्चालित रहेको संविधानमा जनताका अधिकार एवं सर्वोत्तम हित र आकाङ्क्षाहरु प्रतिविम्बित भएको बताए ।

“गणतन्त्र स्थापनासँगै हामीले हासिल गरेका यी उपलब्धिहरु गौरवपूर्ण र दूरगामी महत्वका छन् । तर यिनै उपलब्धिमा मात्र आत्ममुग्ध भएर बस्न मिल्दैन”, उनले भने । प्रधानमन्त्री ओलीले गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि हो भन्दै यस युगान्तकारी राजनीतिक परिवर्तनलाई सामाजिक जीवनका समग्र आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्रै यो दिगो बन्न सक्छ र लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन हामीले सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाइरहेको बताए ।

गणतन्त्र शासन प्रणाली मात्रै नभइ नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति पनि भएको र गणतन्त्र सामाजिक न्याय र समानतामा आधारित समृद्धिसहितको प्रणाली हो, त्यसैले यहाँ महिला, दलित, पछाडि परेका कुनै पनि समुदायमाथिका कुनै पनि विभेदहरू ग्राह्य र सह्य हुन नसक्ने प्रधानमन्त्री सन्देशमा उल्लेख छ । सन्देशमा गणतन्त्रमा जाति, वर्ण, धर्म वा अरु कुनै पनि आधारमा कसैमाथि पनि असमानता, भेदभाव र छुवाछूतको व्यवहार स्वीकार्य हुन नसक्ने पनि स्पष्ट गर्नुभएको छ । कोरोना महामारीले आक्रान्त भएका बेला सिङ्गो मुलुक एकताबद्ध भइ जनताको सुख र समृद्धि तथा स्थिरताका लागि केन्द्रित हुन पनि सन्देशमा आह्वान गरिएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments