नेपालमा फेरि लम्बियो लकडाउन

काठमाडौं : कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले विगत लामो समयदेखि गर्दै आएको ‘लकडाउन’को अवधि फेरि बढाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ २० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय देशका विभिन्न स्थानमा कोरोना संक्रमित धमाधम भेटिन थालेपछि सरकारले लकडाउनलाई निरन्तरता दिएको हो ।
यसअघि आइतबार नै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन बढाउन सिफारिस गरेको थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समिति बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले लकडाउनको समय बढाएको हो ।
मन्त्रिपरिषद् बैठकले लकडाउनलाई थप कडाइ गर्ने निर्णय पनि गरेको छ । यसअघिका लकडाउन उल्लंघनका घटना तीव्र भएपछि सरकारले थपिएको लकडाउन थप सशक्त बनाउने निर्णय गरेको हो । अनावश्यक काममा घर बाहिर निस्किएर लकडाउन उल्लंघन गर्न थालेपछि कडा बनाउन सरकारले निर्देशन दिएको हो ।
चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले पहिलो चरणमा ११ चैतदेखि १८ चैतसम्म लकडाउन घोषणा गरेको थियो । दोस्रो पटक २५ चैतसम्म, तेस्रो चरणमा ३ बैशाख र चौथो चरणमा बैशाख १५ र पाँचौं चरणमा बैशाख २५ गतेसम्म लकडाउन अवधि बढाएको थियो । यसैगरी छैटौं चरणमा जेठ ५ गतेसम्म लकडाउनको अवधि लम्ब्याइएको थियो ।
नेपालमा अहिलेसम्म दुई सय ९५ जनामा कोराना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये ३६ जना उपचारपछि घर फर्किएका छन् । आइतबार कोरोना संक्रमित एक युवाको ज्यान गएको छ । बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनी १२ दिनअघि मात्र भारतको मुम्बईबाट लकिछिपी नेपाल आएका थिए ।
शनिबार मात्र एक महिलाको कोरोनाकै कारण निधन भएको थियो । नौ दिनअघि सुत्केरी भएकी सिन्धुपाल्चोक बाह्रबिसे–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु कोरोनाका कारण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि उनलाई शनिबार काभ्रेको धुलिखेल अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो । स्वासथ्य मन्त्रालयले नेपालमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना भएको जनाएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments