कार्यकर्ताको बुझाइ : भीम रावलको ‘राँडो रुवाई’

–मदन बस्नेत

– मदन बस्नेत

अचेल कालापानीको विषयमा भारतलाई भन्दा आफ्नै देशको सरकारलाई चर्को स्वरमा गाली गर्ने र आफूलाई प्रखर राष्ट्रवादीको अग्रपंक्तिमा उभ्याउने होडबाजी चलेको छ । त्यसमा सबैभन्दा अब्बल श्रेणीमा देखिएका ब्यक्तित्व हुन्, नेकपाका नेता डा. भीमबहादुर रावल ।
उनका उत्तेजनात्मक अभिव्यक्ति र आकोशपूर्ण प्रस्तुतिले उनी नेकपाका नेता हुन् कि प्रतिपक्षी दलका प्रमुख नेता ? जनता रनभुल्लमा परेका छन् । सडक, सदन र मिडियामा अचेल उनी यस्तरी प्रस्तुत हुन्छ्न् कि मिडियाले ब्रेकिङ् न्युजको खुराक खोज्न अन्त कतै जानै पर्दैन । सरकारविरुद्धको कडा टिप्पणी र तीखो आलोचनाले आजकल उनी फेसबुक, ट्विटर र युटुबको ट्रेन्डिङमा शीर्ष स्थानमा पर्दछ्न् ।

डा. रावलले वर्तमान सरकार, त्यसका मन्त्रीहरु र नेतृत्वमाथि दैनिक नयाँ नयाँ गम्भीर आरोप लगाइरहेका हुन्छन् । कोरोनाको नियन्त्रणका लागि चीनबाट मगाइएको स्वास्थ्य किट खरिदमा भ्रष्टाचार भएको, सरकारका मन्त्रीहरूले ठेक्कापट्टा र कमिसनमा लागेर खुलेआम भ्रष्टाचार गरेको, मुलुकको सीमा रक्षा गर्न नसकेको, विवादास्पद एमसीसीलाई सरकारको नीति र कार्यक्रममा घुसाएर खुसुक्क पास गर्न खोजेकोजस्ता अति नै संगीन आरोप लगाउँदै प्रधानमन्त्रीकै राजीनामा समेत खुलेयाम मागिरहेका हुन्छन्, भीम रावल ।
डा. रावल नेकपाका एैरे गैरे सामान्य कार्यकर्ता होइनन् । हाल उनी पार्टीका एउटा जिम्मेवार नेता, सांसद र सुदूरपश्चिम प्रदेशका पार्टी इन्चार्जसमेत छन् ।


पार्टीको नेतृत्व गरेर उनी पटकपटक सरकारमा समेत सहभागी भइसकेका नेता हुन् । गृह, पर्यटन, रक्षाजस्ता महत्वपूर्ण मन्त्रालयहरुका साथसाथै उपप्रधानमन्त्री जस्तो महत्वपूर्ण जिम्मेवारी पनि सम्हालिसकेका छन् । त्यसैले उनले बोलेका, उठाएका र लगाएका आरोपहरुलाई हल्का रुपमा लिन र मान्न सकिन्न । उनको हरेक बोलिको निकै गम्भीर अर्थ र माने लाग्छ, लगाउनु पनि पर्छ ।
डा. रावलले सरकार र पार्टीविरुद्ध गर्ने गरेको तीखो आलोचना र कडा टिप्पणीले फेसबुके ठेट्नाहरुलाई त निशुल्क मनोरञ्जन गराएकै छ तर त्योभन्दा पनि बढी, आम जनमानसमा ठूलो भ्रम र दुविधा सिर्जना गरिदिएको छ । त्यसैले सत्य के हो ? झुठो को हो ? त्यसको छिनोफानो हुन जरुरी छ ।
यतिबेला पार्टीभित्रैबाट डा. रावलको विषयमा अनेकन प्रश्नहरु उठिरहेका छन् । मन्त्रीमण्डलका सदस्यहरुका विरुद्ध मात्र होइन, पार्टी नेतृत्व र सरकार प्रमुखविरुद्ध कन्दनी कसेरै विरोधमा उत्रन उनलाई कसले छुट दियो ? यदि उनले उठाएका सवालहरु सही र सत्य नै छन् भने पनि उनले त्यसलाई सडकमा त्यसरी छताछुल्ल पार्नुभन्दा पहिले तथ्य र प्रमाणसहित पार्टीको आधिकारिक फोरमहरुमा विधिसम्मत ढंगले प्रस्तुत गर्नु पथ्र्यो कि पर्दैनथ्यो ?
उनीजस्ता जिम्मेवार नेताले पार्टीको विधि, विधान र पद्धतिलाई तिलाञ्जलि दिएर सडकमा त्यसरी तमासा देखाउँदै हिड्न कसरी मिल्छ ? अनि, उनले आफ्नो आङको छारो कन्याउँदै र आफैं बस्ने घरमा त्यसरी डडेलो लगाउँदै जगहसाईं गरिरहँदा पनि पार्टी र पार्टीका जिम्मेवार नेताहरु चुप लागेर बसिरहन हुन्छ ?

पार्टीको सुदूरपश्चिम प्रदेशको सांसद अनि इन्चार्जको नाताले पार्टीमा कालापानी, लिपुलेक र लिम्पियाधुराको रिपोर्टिङ गर्ने जिम्मेवारी उनकै हो । उनी ती क्षेत्रहरुमा कति पटक पुगे ? चार वर्ष लगाएर भारतले त्यत्रो बाटो खनिउञ्जेल उनले किन, कसरी त्यसको सुइँकोसम्म पाएनन् ?

उनी सही छन् वा गलत ? त्यसको अबिलम्ब छिनोफानो गर्नु पर्दछ र दोषीलाई सख्त सजाय गर्नु पर्दछ । उनी सही हुन् भने अवश्य पनि पुरस्कृत गर्नु पर्दछ । होइन, उनी गलत र झुठा हुन् र उनले लगाएका सबै आरोपहरु मिथ्या छन् भने पार्टीको बर्खिलाप जाने र अनुशासन तोडेकोे आरोपमा उनलाई पार्टीले हदैसम्मको कारवाही पनि गरेर देखाउनु पर्छ । तब न कम्युनिस्ट पार्टी । नत्र नाम फेरे भइहाल्यो नि भन्ने पार्टीभित्रैबाट उठेको आवाजले डा. रावल आफूले खनेको खाडलमा आफैं पर्ने सम्भावना बढेको छ ।
केही दिनअघि संसदीय समितिको बैठकमा उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालमाथि गरेको व्यक्तिगत कटाक्ष र प्रतिशोधको अभिब्यक्तिबाट उनी आफै हाँसोको पात्र बनेको पत्तै पाएनन् । परराष्ट्र मन्त्रालयको बक्तब्यमा हस्ताक्षर किन भएन भनेर मन्त्री ज्ञवालीलाई छ्याँस्न खोज्दा परराष्ट्रमन्त्री भइसकेका उनी स्वयंम्लाई नै ‘डिप्लोमेटिक करेस्पोन्डेन्ट’ र ‘डिप्लोमेटिक स्टेट्मेन्ट’को अन्तर्राष्ट्रिय प्रचलन र अभ्यासको ज्ञान नभएको पर्दाफास हुन पुग्यो । त्योभन्दा ठूलो लज्जाको विषय उनका लागि अरु के होला ?
कालापानीमा भारतले सडक बनाएको कसरी थाहा भएन ? लिपुलेकसहितको नक्सा सरकारले किन निकालेन भनेर भूमी सुधारमन्त्री पद्मा अर्यालको हुर्मत नै लिए । तर त्यसरी आफूलाई एक नम्बरको राष्ट्रवादी पंक्तिमा उभ्याउन खोज्दा उनले के हेक्क राख्न बिर्सनु हुँदैन थियो भने भारतले निर्माण गरेको त्यो सडकको गुरुयोजना सन् २००८ मा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहको कार्यकालमा भएको थियो भने सन् २००९ मा त भीम रावल आफैं परराष्ट्रमन्त्री बनेका थिए । त्यतिबेला उनले भारतले बनाउने भनेको त्यो बाटोको विरोधमा एक शब्द पनि चुइक्क बोलेका थिएनन् ।
पछि उनी आफैं गृहमन्त्री पनि बने तर त्यो बेलामा उनले लिपुलेकमा सीमा रक्षा गर्न नेपाली सेना किन खटाउन सकेनन् ? पदमा छँदा सुस्ताउने अनि पद खुस्किएपछि ब्युँतने उनको त्यो राष्ट्रवाद पनि बुझिनसक्नुको पहेली भएको छ ।
पार्टीको सुदूरपश्चिम प्रदेशको सांसद अनि इन्चार्जको नाताले पार्टीमा कालापानी, लिपुलेक र लिम्पियाधुराको रिपोर्टिङ गर्ने जिम्मेवारी उनकै हो । उनी ती क्षेत्रहरुमा कति पटक पुगे ? चार वर्ष लगाएर भारतले त्यत्रो बाटो खनिउञ्जेल उनले किन, कसरी त्यसको सुइँकोसम्म पाएनन् ? मिडियाले उछाल्दा मात्र बल्झिने नत्र अरु बेला सुस्ताउने उनको यो कस्तो राष्ट्रवाद हो ? पार्टीमा आफू बाहेकका बाँकी सबै नेताहरु भ्रष्टाचारी र राष्ट्रघाती भन्ठान्ने उनको कस्तो मानसिकता हो ? भन्ने यावत प्रश्नहरु अहिले उनी तिर नै तेर्सिएको छ ।
त्यसैले कुर्सीमा छँदा चुपचाप लाग्ने अनि कुर्सी नपाउँदा सीमा मिचियो भनेर छाती पिटिपिटी डाँको छाडेर रुने डा. रावलको रुवाई, ‘राँडो रुवाई’ मात्र हो भन्ने टिप्पणी पार्टीभित्रैबाट गर्न थालिएको छ ।

सूर्यविनायक, भक्तपुर ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments