३६ जनाले जिते कोरोना

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार ९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या २५८ पुगेको हो। जसमध्ये पुरुष २१० र महिला ४८ छन् ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षण अनुसार शुक्रबार ९ जनामा कोरोना पुष्टि भएको हो।

नयाँ पोजिटिभ देखिएका मकवानपुर निवासी ३७ र बाँकेका १८, २०, २२, २५, २५, २७, ३२, ३६ वर्षीय पुरुष  छन्।  उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ।

विराटनगरस्थित कोसी अस्पतालबाट उदयपुरका २५ वर्षीय पुरुष डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ३६ पुगेको छ। उनी अस्पताल भर्ना भएको २७ औं दिनमा डिस्चार्ज भएका हुन्।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २३ हजार ९ सय १४ नमुना परीक्षण गरिएको छ। संक्रमण बढ्ने खतरा देखिएका क्षेत्रमा मन्त्रालयले परीक्षणको दायर बढाउँदै आएको छ। आरडीटी विधिबाट ६३ हजार ८५ जनाको नमुना परीक्षण गरिएको छ।

अहिले क्वारेन्टाइनमा १५ हजार ६ सय ८३ जना रहेका छन् भने उपत्यकामा २७ र बाहिर २४० गरेर २६७ जना आइसोलेसनमा छन्।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार २४ जिल्लामा संक्रमण देखिएको छ। जसमध्ये प्रदेश १ मा ३५, प्रदेश २ मा एक सय, बागमती प्रदेशमा १३, गण्डकीमा ३, प्रदेश ५ मा १०२ सुदूरपचिम प्रदेशमा ५ जना संक्रमित छन्।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments