एकै दिन ८३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौं : मंगलबार मात्र ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार बिहान एकै पटक ५७ जनामा संक्रमण देखिएकोमा राति थप २६ जनामा कोरोना भाइरस पुष्टि भएको हो । नेपालमा एकै दिन यति ठूलो संख्यामा संक्रमित देखिएको पहिलो पटक हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको पीसीआर नमुनाको परीक्षणमा मंगलबार ८३ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

मंगलबार साँझ कोरोना पोजिटिभ देखिएका काठमाडौं र भक्तपुरकासमेत रहेका छन्। सहप्रवक्ता अधिकारीका अनुसार भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। काठमाडौंकी एक ३३ वर्षीया महिलामा कोरोना देखिएको हो। यसअघि संक्रमण देखिएका उपत्यकका सबै निको भएका थिए।

सहप्रवक्ता अधिकारीका अनुसार साँझ पुष्टि भएका नयाँ संक्रमित पर्साका ६ महिला र १२ पुरुष गरी १८, महोत्तरी, धनुषा, भक्तपुरका  दुईदुई गरेर छजना, काठमाडौं र  सर्लाहीका एकएक जना गरेर जम्मा २६ जनामा कोरोना पोजिटिभ देखिएको हो।  यसअघि दिउँसो पर्सामा दुई पत्रकारसहित ३९, रुपन्देहीका ९, कपिलवस्तुका ८ र बाराका एक गरेर ५७ जनामा कोरोना पुष्टि भएको थियो ।

मंगलबार एकै दिन ठूलो संख्यामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २१७ पुगेको हो । अहिलेसम्म उपचारपछि ३३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकामध्ये तीनको पुनः परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।

अहिलेसम्म सम्भावित संक्रमित मानिएका २२८ जना आइसोलेसनमा छन्। १२ हजार सात सय ८५ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर १८ हजार ९ सय ६४ र आरडीटी विधिबाट ५९ हजार ६ सय २७ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ३६ जनामा कोरोना परीक्षण गरिएको थियो।

सातवटै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ। जसमध्ये प्रदेश १ मा ८ हजार ०६३, प्रदेश २ मा ५ हजार ९३५, बागमती प्रदेशमा ९ हजार ३१६, गण्डकी प्रदेशमा ६ हजार ५१४ प्रदेश ५ मा ७ हजार २२१ र कर्णाली प्रदेशमा ७ हजार ७६३ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ४१५ गरी ५९ हजार ६२७ आरडीटी परीक्षण पुगेको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments