अमेरिकाका नेपालीले कीर्तिपुर नगरपालिकालाई गरे दुई लाख सहयोग

काठमाडौं : अमेरिकामा बसोबास गर्दै आएको नेपालीको समूहले कीर्तिपुर नगरपालिकालाई दुई लाख रुपैयाँ सहयोग गरेको छ । गैरआवासीय नेपाली संघ क्यालिफोर्नियाका संस्थापक अध्यक्ष पूर्णचन्द्र बानियाँको पहलमा संकलित रकममध्ये दुई लाख रुपैयाँ कीर्तिपुर नगरपालिकाको आकस्मिक कोषमा सहयोग गरेको हो ।

अमेरिकामा बसोबास गर्दै आएका कीर्तिपुरका ३७ जना नेपालीले सहयोग गरेको दुई लाख ६८ हजार रुपैयाँमध्ये दुई लाख नगरपालिकालाई, ५० हजार रुपैयाँ बराबरको खाद्यान्न कीर्तिपुरमै बाघभैरव क्वाटरिङले सञ्चालन गर्दै आएको निशुल्क खाना खुवाउने अभियानलाई र बाँकी रकम सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्रीमा खर्च गरिएको कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र बानियाँले जानकारी दिए ।

वडा अध्यक्ष बानियाँले कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन र उपप्रमुख सरस्वती खड्कालाई दुई लाख रुपैयाँ नगद प्रदान गरेका थिए । यसैगरी बाघभैरव क्याटरिङलाई ३० बोरा चामल र ४४ केजी दाल प्रदान गरिएको थियो । अध्यक्ष बानियाँले समाजसेवी अस्ट महर्जन र महेश डंगोललाई उक्त खाद्य सामग्री प्रदान गरेका थिए । क्वाटरिङले लकडाउन सुरु भएदेखि नै गरिव तथा विपन्नहरुलाई दैनिक रुपमा खाना खुवाउँदै आएको छ ।

सहयोग कार्यक्रममा वडा अध्यक्ष बानियाँले अमेरिकामा बासोबास गर्ने कीर्तिपुरका नागरिकले वडा नम्बर ४ का लागि उक्त सहयोग गरे पनि सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने नीति लिएका कारण नगरपालिकालाई रकम हस्तान्तरण गरिएको बताए । उनले सरकारी कोषमा विदेशबाट सामूहिक रुपमा पहिलो पटक रकम जम्मा भएको दाबी पनि गरे ।

वडा अध्यक्ष बानियाँले अमेरिकामा कीर्तिपुरवासीको नाममा टिम बनेको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका काठमाडौं जिल्ला सचिव राजकुमार नकर्मी, नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखाका सभापति सञ्जीव बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

पूर्णचन्द्र बानियाँले २०७२ सालको विनासकारी भूकम्पका साथै अन्य विभिन्न कार्यक्रममा पनि आर्थिक सहयोग गर्दै आएका छन् । उनले विभिन्न खेलकुद प्रतियोगिता सञ्चालनका लागि पनि निरन्तर सहयोग गर्दै आएका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments