बजेटको प्राथमिकता : पीडितलाई प्याकेज, कृषिमा क्रान्ति

काठमाडौं : सरकारले कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै सरकारले अगाडि सारेको आर्थिक विकास, सुशासन तथा समृद्धिको मार्गलाई अगाडि बढाउने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त, प्राथमिकताका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।

संविधानले प्रत्याभूत गरेको लोकतान्त्रिक मूल्य मान्यता, समाजवाद उन्मुख अर्थतन्त्रका प्रमुख आधारका रुपमा रहेको सार्वजनिक, निजी, सहकारीका माध्यमबाट सामाजिक न्याय स्थापना गर्दै समृद्ध अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट केन्द्रित गरिने उनले जानकारी दिए । संविधानप्रदत्त नागरिकको मौलिक हक कार्यान्वयन गर्दै विकास, सुशासन, समृद्धिको यात्रामा प्राप्त भएको उपलब्धि एवं नागरिकलाई गुणस्तरीय एवं प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नेतर्फ सरकारले विशेष ध्यान दिने मन्त्री खतिवडाको जोड छ ।

भविष्यमा आउन सक्ने विपद्सँग जुध्न सबल स्वास्थ्य संस्थाको स्थापनालाई केन्द्रमा राखेर कोरोनाले पारेको प्रभाव न्यून गर्दै अर्थतन्त्रलाई थप गतिशील बनाउन बजेट प्रभावकारीरुपमा परिचालन गर्ने लक्ष्य राखिएको उनले स्पष्ट पारे । उनले कोरोना नियन्त्रणका क्रममा प्राप्त भएको अन्तर्राष्ट्रिय ऐक्यबद्धालाई उपयोग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत साधन  उपयोग गर्दै निजी क्षत्रेलाई समेत मौद्रिक उपकरण तथा राहतका विभिन्न प्याकेजमार्फत समस्याको समाधान गर्ने विश्वास व्यक्त गरे ।

रकारले राष्ट्रिय गौरव तथा सञ्चालनमा रहेका ठूला आयोजनामा स्रोत सुनिश्चित गरिएको जनाएको छ। अर्थमन्त्री डा. खतिवडाका अनुसार उत्पादनका साधनमा सबै नागरिकको पहुँच पुग्नेगरी बजेटको प्राथमिकता तय गरिएको छ ।

यसमा सबै रुपान्तरणकारी योजनामा स्रोतको अभाव नहुने गरी बजेट बन्ने भएको छ । उनका अनुसार स्वास्थ्य प्रणाली सवल बनाउने र त्यसका लागि आवश्यक संरचना निर्माणमा बजेट केन्द्रित हुनेछ ।

स्वास्थ्य बिमाको विस्तार गरिने भएको छ भने आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच पुर्‍याउने लक्ष्य तय गरिएको छ । सबै नागरिकलाई साक्षर बनाउने अभियान समेत आगामी वर्ष समावेश हुने भएको छ ।

कोरोनाबाट बढी प्रभावित पर्यटनसहितको सेवा क्षेत्रलाई पुनरुत्थान गर्नको लागि आवश्यक पर्ने राहत प्याकेज समेत समेटेर बजेटले ल्याउने तयारी भइरहेको छ । आन्तरिक पर्यटनलाई बढावा दिँदै यो क्षेत्रमा चहलपहल बढाउने र हवाई पूर्वाधार निर्माणलाई समेत उत्तिकै प्राथमिकता दिइने अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए ।

उनका अनुसार चालु आयोजना सकाउने र अत्यावश्यकबाहेकका नयाँ आयोजनामा भने बजेट खर्च नगर्ने उनले स्पष्ट पारेका छन् । सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने प्रतिबद्धता समेत अर्थमन्त्रीले गरेका छन् । वैदेशिक सहायतालाई स्वास्थ्य पूर्वाधार र आर्थिक पुनरुद्धारमा केन्द्रित गरिने भएको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments