नेपालले गुमाउन सक्छ मानसरोवर जाने २५ हजार पर्यटक

काठमाडौं : भारतले कैलाश मानसरोवर जानका लागि नेपाली भूमि अतिक्रमण गरी नयाँ बाटो बनाएपछि नेपालको पर्यटन व्यवसायलाई गम्भीर धक्का लाग्ने खतरा बढेको छ । भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि शुक्रबार नयाँ सडक खोलेको छ । धार्चुला—लिपुलेक लिंक रोड नाम दिइएको यो सडक भारतको उत्तराखण्डस्थित पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्र हुँदै लिपुलेक पुग्छ ।


अहिले नेपालबाट प्रत्येक वर्षको मेदेखि सेप्टेम्बरसम्म करिब २५ हजार भारतीयले मानसरोवरको यात्रा गर्छन् । मानसरोवर जान नेपाल आउने भारतीयहरूले यात्राका क्रममा ३० देखि ६० प्रतिशत रकम नेपालमा खर्चने गरेको अनुमान छ ।
अब भारतले खोलेको बाटोबाटै मानसरोवरको यात्रा गर्न चीनले अनुमति दिएमा नेपालको पर्यटन क्षेत्रमा दूरगामी असर पर्ने देखिएको छ । खासगरी नेपालमा अफसिजनमा भारतबाट आउने ठूलो संख्याको पर्यटकले पर्यटन क्षेत्रलाई निकै योगदान पु¥याइरहेको अवस्थामा नयाँ बाटो प्रयोग भएमा करोडौंको लगानी संकटमा पर्ने देखिएको छ ।
अहिले भारत र चीनबीच भएको सहमतिअनुसार करिब एक हजार जना मात्रै भारतको मार्ग भएर मानसरोवर जान पाउँछन् । यो बाटो सहज नभएपछि ठूलो संख्यामा भारतीय पर्यटक नेपालको बाटो भएर कैलास मानसरोवर जाने गरेका छन् ।


मुख्य रुपमा नेपालबाट दुई रुट भएर कैलाश मानसरोवर जाने गरिन्छ । नेपालगञ्ज वा सुर्खेत पुगेर हुम्लाको सिमीकोटसम्म विमानमा जाने र त्यहाँबाट हिल्सा नाका हुँदै मानसरोवर पुग्ने सबैभन्दा बढी प्रयोग हुने रुट हो । नेपालबाट ल्हासासम्म विमानमा जाने र त्यहाँबाट सडक मार्ग भएर मानसरोवरसम्म पुग्ने अर्को रुट पनि छ । यसबाहेक तातोपानी, केरुङ, कोरला भएर पनि सडकमार्गबाट मानसरोवरसम्म पुग्न सकिन्छ । तर, मुख्य रुपमा भारतीय पर्यटकले सस्तो, सजिलो र मनोरञ्जनात्मक हुने भएकाले नेपालगञ्ज–सिमीकोट–हिल्साको रुटलाई बढी प्रयोग गर्दै आएका छन् ।
मानसरोवर जाने पर्यटकहरूलाई नै लक्षित गरेर अहिले नेपालगञ्जका होटलका लागि ठूलो लगानी भएको छ । पाँच तारे होटल समेत खुलेका छन् । हुम्लाकै सिमीकोटमा पनि एक रातमा एक हजार जनासम्म राख्नसक्ने होटलहरू खुलेका छन् । हिल्सामा पनि होटलहरू चलेका छन् ।
तर, भारतले अहिले खोलेको विवादास्पद बाटो भएर मानसरोवर जान दिएमा उनीहरू नेपालगञ्ज वा सुर्खेतको बाटो आउने छैनन् । यसले नेपाली होटलहरूसँगै त्यहाँ कार्यरत श्रमिकहरूको रोजगारी समेत गुम्ने खतरा बढेको छ । यस्तै मानसरोवरको यात्रामा प्रयोग हुने नेपाली पथप्रदर्शक, भरिया, कुक लगायतले पनि आफ्नो पेशाबाट हात धुनुपर्ने जोखिम बढेको छ ।


नेपाल हुँदै मानसरोवर जाने यात्रु घट्दा हुम्ला–सिमीकोट हवाई रुटमा सेवा दिइरहेका वायुसेवा कम्पनी पनि प्रभावित हुने छन् । सिजनमा पर्यटक बोकेर हिल्साम्म पुग्ने नेपाली हेलिकोप्टरहरूले पनि आम्दानी गुमाउनुपर्नेछ । करिब ७ वटा हेलिकोप्टर कम्पनीले मानसरोवर जाने यात्रु बोक्ने गरेका छन् । नेपालगञ्जबाट सिमीकोटमा विमानबाट आउजाउ गर्ने पर्यटकले करिब २५ हजार खर्चन्छन् । हेलिकप्टर चार्टर गर्नेले प्रतिव्यक्ति ४० हजारसम्म खर्च गर्ने गरेका छन् ।
व्यवसायीका अनुसार मानसरोवर जान आएका एक जना यात्रुले तीन हजारदेखि ४५ सय डलर (साढे ३ लाखदेखि साढे ५ लाखसम्म) खर्च गर्छन् । जसको ३० प्रतिशत रकम नेपालमा नै खर्च हुने अनुमान छ । हेलिकप्टरबाट यात्रा गर्नेले ६० प्रतिशतसम्म खर्च नेपालमै गर्ने गरेको व्यवसायीहरू बताउँछन् । ६० डलर नेपाल सरकारको खातामा ट्रेकिङ शुल्कबापत जम्मा हुन्छ ।
नेपालमा थुप्रै ट्रेकिङ तथा ट्राभल एजेन्सीको मुख्य आर्थिक स्रोत मानसरोवरका यात्रीहरू हुन् । त्यस्ता एजेन्सीहरूलाई पनि भारतले खोलेको नयाँ मार्गले प्रभावित गर्ने सम्भावना देखिएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments