
सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमायो : देउवा
काठमाडौं : प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको आरोप लगाएका छन्। बजेट अधिवेशनको पहिलो दिन शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता देउवाले यस्तो आरोप लगाएका हुन्।
देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण र यसले सबैभन्दा पीडित पक्ष बनेकाको दुःख सरकारले देख्न नसकेको, स्वास्थ्य सामग्री खरिदमै भ्रष्टाचार गरेको भन्दै सरकारको आलोचना गरेका हुन्।
‘सरकारले कोरोना नियन्त्रणका लागि रणनीति नै बनाएको छैन। अत्यन्त विषम अवस्थामा भ्रष्टाचारको विषय सर्वाजनिक हुनु सरकार लोकतान्त्रिक मूल्य मान्यता र संविधानको भावना विपरित क्रियाकालापमा देखिन्छ। यो अवस्थामा सांसदको अपहरण हुनु अवाञ्छनित र अपराधिक गतिविधि स्वीकार्य हुँदैन’, देउवाले भने, ‘ यी विषयलाई नेपाली कांग्रेसले गम्भीरता पूर्वक लिएको छ। सरकारका कामलाई अत्यन्त सूक्ष्म ढंगले हेर्दा सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको छ।’
देउवाले कोरोनाका कारण विदेशमा विचल्लीमा परेका नेपालीको उद्धारमा सरकारसँग योजना नदेखिएको भन्दै आपत्ति जनाए। कोरोनाबाट पर्ने नकारात्मक पक्षको अध्ययन गरी तत्काल र दीर्घकालीन रणनीति बनाउन सरकार चुकेको उनको आरोप छ।
सँगै देउवाले यो परिस्थितिमा आफ्नो काममा सक्रिय स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मीको भने प्रशंसा गरेका छन्। देउवाले कोरोनाका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै स्वास्थ्य उपचार गराइरहेका सबैको स्वास्थ्य लाभको कामना गरेका छन्।