गरिव र असहायको भोको पेट भर्दै दीलिप

काठमाडौं : नेपाल लकडाउन भएको डेढ महिना नाघिसकेको छ । गत चैत ११ गतेबाट सुरु भएको लकडाउनलाई सरकारले जेठ ५ गतेसम्म लम्ब्याएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि सुरु गरिएको लकडाउनमा सबैभन्दा बढी पीडित बनेका छन्, दैनिक श्रम बेच्ने मजदूर, गरिव, असहाय र अशक्त ।
लगातारको लकडाउनले उनीहरुको दैनिकी नै चौपट बनेको छ । काम गर्न नपाउँदा मजदूरहरु भोकभोकै परेका छन् । सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्दै आए पनि पर्याप्त हुन सकेको छैन । लकडाउनका कारण समस्यामा परेकाहरुलाई अहिले विभिन्न संघसंस्था र व्यक्तिहरुले निरन्तर रुपमा सहयोग गर्दै आएका छन् । गरिव, अशक्त, असहाय र फरक क्षमताका व्यक्तिहरुको भोको पेट भर्ने अभियानमा लागेका व्यक्तिहरुमध्ये एक हुन्, दीलिप थापा ।


राजधानीका चर्चित काब्य स्कुलका संस्थापक डाइरेक्टर थापाको संयोजनमा गत बैशाख १६ गतेदेखि गरिव तथा असहायहरुलाई खाना खुवाउन थालिएको छ । हरेक दिन दिउँसो ३ देखि ५ बजेसम्म नयाँ बानेश्वरस्थित काब्य स्कुलको प्रांगणमा खाना वितरण हुँदै आएको छ । अहिले दैनिक तीनदेखि चार सय जनालाई खाना वितरण गरिँदै आएको छ ।
गरिन तथा असहायलाई निशुल्क खाना खुवाउने अभियानमा काब्य स्कुल र थर्ड आई युथ क्लबले संयोजन गरेका छन् । यस अभियानमा काठमाडौं महानगरपालिका वडा नम्वर १० सँग पनि समन्वय गरिएको छ । काब्य स्कुल र थर्ड आई क्लबले खाना बनाउनका लागि आवश्यक सामग्री र जनशक्ति व्यवस्थापन गर्दै आएका छन् । यस अभियानमा स्थानीय समाजसेवी र स्कुलका सदस्यहरुले पनि सहयोग गर्दै आएका छन् ।
‘अहिलेसम्म यस क्षेत्रका समाजसेवीको सहयोगबाट निशुल्क खाना वितरण गर्दै आएका छौं’, काब्य स्कुलका संस्थापक डाइरेक्टर थापा भन्छन्, अबका दिनमा अपुग भएमा आफ्नै खर्चमा पनि लकडाउन अवधिभर अभियान सञ्चालन गर्ने छौं ।’
थापाले कोरोना भाइरस संक्रमणको खतरालाई ध्यानमा राख्दै स्वास्थ्य सजगता र सामाजिक दूरीलाई ध्यानमा राखेर खाना वितरण गरिँदै आएको बताए । ‘कोरोना भाइरसको संक्रमणको खतरालाई ध्यानमा राखेर स्वास्थ्य सजकतालाई ध्यान दिएका छौं । सामाजिक दूरी कायम राख्ने र साबुन पानीले हात धुने व्यवस्था मिलाएका छौं’, थापाले भने ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments