निभेको चुलो बाल्ने, भोको पेट भर्ने अभियानमा राजकुमार केसी

काठमाडौं : नेपाल लकडाउन भएको डेढ महिना नाघेको छ । गत चैत ११ गतेबाट सुरु भएको लकडाउन सरकारले जेठ ५ गतेसम्म लम्ब्याएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि सुरु गरिएको लकडाउनमा सबैभन्दा बढी पीडित बनेका छन्, दैनिक श्रम बेच्ने मजदूर, गरिव, असहाय र विद्यार्थी ।
लगातारको लकडाउनले उनीहरुको दैनिकी नै चौपट बनेको छ । काम गर्न नपाउँदा मजदूरहरु भोकभोकै परेका छन् भने देशका दूरदराजबाट उच्च शिक्षा हासिल गर्ने अभिलाषा बोकेर सहर पसेका विद्यार्थी बेखर्ची हुँदा विखलबन्दमा परेका छन् । लकडाउनका कारण समस्यामा परेकाहरुलाई अहिले विभिन्न संघसंस्था र व्यक्तिहरुले निरन्तर सहयोग गर्दै आएका छन् । गरिवको निभेको चुलो बाल्ने र भोको पेट भर्ने अभियानमा लागेका व्यक्तिहरुमध्ये एक हुन्, राजकुमार केसी ।
कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का स्थायी बासिन्दा केसी लकडाउन सुरु भएदेखि नै राहत वितरण अभियानमा निरन्तर संलग्न हुँदै आएका छन् । कहिले सहयोगी हातको सहयोगमा त कहिले आफ्नै व्यक्तिगत खर्चमा विपन्नलाई राहत वितरण गर्दै आएका उनी आफ्नो अभियानलाई निरन्तर सञ्चालन गर्ने बताए ।


राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्दीय सदस्यसमेत रहेका केसीले एभिन्युज टेलिभिजनको ‘कोरोना कहर एभिन्युज पहल’ कार्यक्रमसँग समन्वय गरी राहत वितरण पनि गरिरहेका छन् । उनले कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, दक्षिणकाली नगरपालिकालगायत उपत्यकाका विभिन्न स्थानमा पुगेर राहत वितरण गर्दै आएका छन् । केसीले इको इन्सुरेन्सका अशोककुमार खड्का, एसपी सापकोटा, विकास श्रेष्ठ, धुर्मुस सुन्तली फाउन्डेसनलगायतका संघसंस्था र व्यक्तिहरुबाट उपलब्ध गराएको राहत वितरणलाई पनि सहजीकरण गर्दै आएका छन् । उनको संयोजकत्वमा ती दाताहरुबाट उपलब्ध गराइएको राहत त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययनरत विद्यार्थीलाई वितरण गरिएको थियो ।
यस बाहेक पनि उनले आफ्नै व्यक्तिगत खर्चमा राहत वितरण अभियान सञ्चालन गर्दै आएका छन् । उनले पीडितहरुको आवश्यकता अनुसार चामल, दाल, तरकारी, तेल, नुन, मरमसलादेखि अत्यावश्यक औषधि पनि वितरण गर्दै आइरहेका छन् । यसैगरी कतिपयलाई भने औषधि उपचारका लागि नगद नै सहयोग पनि गरिरहेका छन् ।
‘अहिले विश्वभर हामीले कल्पनै नगरेको महामारी फैलिएको छ । यस्तो महामारी र लगातारको लकडाउनमा कसैको पनि चुलो ननिभ्योस् र कोही भोकै नरहुन् भनेर लागिपरेको छु’, समाजसेवी केसीले भने । उनले दाताहरुबाट सहयोग नभए पनि आफ्नै खर्चमा निरन्तर रुपमा निभेको चुलो बाल्ने र भोको पेट भर्ने अभियान सञ्चालन गरिरहने प्रतिवद्धता जनाए । ‘संधै दाताहरुको मुख ताकेर पनि हुँदैन अप्ठयारोमा परेकाहरुलाई आफ्नै खर्चमा पनि सहयोग गरिरहेको छु’, केसी भन्छन् । उनले राहत वितरणका लागि अहिलेसम्म पाँच लाखभन्दा बढी रकम खर्चिसकेको बताए ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments