नेकपाको स्थायी कमिटी बैठक अनिश्चित

काठमाडौं : बुधबार बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ।  स्थायी समिति बैठकका एजेन्डाको विषयमा छलफल गर्न बोलाइएको सचिवालय बैठक निष्कर्षमा नपुग्दै टुंगिएको हो।

सचिवालय बैठकले स्थायी समिति बैठकमा छलफल हुने विषयको टुंगो लगाउन नसकेपछि प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बैठक लगत्तै छलफल सुरु भएको छ।

‘वैशाख २० गतेको सचिवालय बैठकको निष्कर्ष अनुरुप भोलि (वैशाख २५ गते) स्थायी समिति बैठक बस्ने निर्णय भएको हो। त्यही अनुरुपको कार्यसूची र प्रस्ताव तयार गर्ने प्रक्रियाका सन्दर्भमा दुई अध्यक्ष कमरेडले अझै पनि गृहकार्य गर्न बाँकी रहेको जानकारी बैठकलाई गराइयो’, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि भने, ‘त्यस बारेमा अहिले पनि दुईजना अध्यक्ष कमरेडले सल्लाह गरेर बैठकको कार्यसूची वा बैठकको बारेमा नै के गर्ने भन्ने निर्णय गर्नुहुने भएको छ।’

बैठकमा दुई पक्षबीच चर्काचर्की भएपछि प्रधानमन्त्री एवम् अध्यक्ष ओली बाहिरिएको स्रोतको दाबी छ। यो विषयमा भने प्रवक्ता श्रेष्ठ खुलेर बोल्न चाहेनन्। यद्यपि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएको उनले स्वीकार गरे।

पार्टी विभाजनको चरणमा पुगेर जोगिएको नेकपामा स्थायी समिति बैठकको एजेन्डादेखि ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’सम्मको विषयले विवाद निम्तिएको छ। दुई अध्यक्षबीच तीन दिनयता छलफल भए पनि यी विषयमा सहमति जुट्न नसक्दा सचिवालय बैठक निष्कर्षबिहीन बनेको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष ‘प्रचण्ड’ बीच सोमबार, मंगलबार र बुधबार भएको छलफलमा शक्ति बाँडफाँटलगायत मुद्दामा छलफल भएको छ। स्थायी समितिको एजेन्डा, बैठक कति लामो बनाउने, कसरी छलफल गराउने भन्ने विषयमा अझै समझदारी जुट्न सकेको छैन।

दुई अध्यक्षबीचको कार्यविभाजन पुरानै सहमतिका आधारमा टुंगो लगाउने गरी एजेन्डा तय गर्न सोमबार दाहाल र महासचिव विष्णु पौडेललाई जिम्मेवारी भने तोकिएको थियो। तर, उनीहरूबीच छलफलै भएन। उनीहरूले एजेन्डा बुँदागत रूपमा तयार पार्ने जनाइएको थियो।

 

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments