नेपालमा फेरि लम्बियो लकडाउन, अब मुलुक जेठ ५ सम्म लकडाउनमै

काठमाडौं : कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले विगत लामो समयदेखि गर्दै आएको ‘लकडाउन’को अवधि फेरि बढाएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
मंगलबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपालमा अहिलेसम्मको समग्र अवस्थाको समीक्षा गर्दै लकडाउनको अवधि बढाउन सिफारिस गरेको थियो । पछिल्लो समय देशका विभिन्न स्थानमा कोरोना संक्रमित धमाधम भेटिन थालेपछि सरकारले लकडाउनलाई निरन्तरता दिएको हो ।
मन्त्रिपरिषद् बैठकले लकडाउनलाई थप कडाइ गर्ने निर्णय पनि गरेको छ । यसअघिका लकडाउन उल्लंघनका घटना तीव्र भएपछि सरकारले थपिएको लकडाउन थप सशक्त बनाउने निर्णय गरेको हो । अनावश्यक काममा घर बाहिर निस्किएर लकडाउन उल्लंघन गर्न थालेपछि कडा बनाउन सरकारले निर्देशन दिएको हो ।
चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले पहिलो चरणमा ११ चैतदेखि १८ चैतसम्म लकडाउन घोषणा गरेको थियो । दोस्रो पटक २५ चैतसम्म, तेस्रो चरणमा ३ बैशाख र चौथो चरणमा बैशाख १५ र पाँचौं चरणमा बैशाख २५ गतेसम्म लकडाउन अवधि बढाएको थियो ।
नेपालमा अहिलेसम्म ८२ जनामा कोराना भाइरसको संक्रमण देखिएको छ । लामो समय अस्पतालमा बसेर निको भएर घर फर्किएका १६ जनामध्ये पनि तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यीमध्ये दुई जनाको वीरगन्ज र एक जनाको काठमाडौंमा उपचार भइरहेको छ । बुधबार मात्र विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय कोरोना जितेर डिस्चार्ज भएका छन् ।

अहिलेसम्म कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण देखिएको छैन । प्रदेश १ मा ३१ जना संक्रमित छन्। उनीहरुको विराटनगरमा उपचार भइराखेको छ । प्रदेश २ मा १३ जना संक्रमित छन् । उनीहरुको वीरगन्जमा उपचार भइराखेको छ । प्रदेश ३ का संक्रमित सातैजना डिस्चार्ज भएका छन् । उनीहरुको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार भएको थियो । त्यसैगरी गण्डकी प्रदेशमा २, पाँच नम्बर प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा पाँच जना संक्रमित फेला परेका छन् । यसरी संक्रमितको संख्या ८२ पुग्दा ६१ पुरुष र २१ महिला छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments