काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीको मौका छोपेर प्रेस स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको बताएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा एक विज्ञप्ति निकाल्दै कांग्रेसले कोरोना भाइरसको महामारीको मौको छापेर सरकारले नै प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयासमा लागेको बताएको छ ।
‘संसदमा सरकारले पेस गरेका प्रेस विरोधी विधेयक त छँदै थिए । लकडाउनको बेला मिडियामा हस्तक्षेप, दबाब र स्पष्टिकरणको सत्ता संक्रमण बढेको छ’, कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको पहरेदारको रुपमा रहेको मुलुकको चौथो अंगमाथि कुनै पनि ढंगले नियन्त्रण गर्न खोज्ने हर्कत अस्वीकार गर्दै कांग्रेस सदैव त्यसविरुद्ध उभिने छ ।’
कांग्रेसले प्रश्न र आलोचनाको संवैधानिक हक बोकेको मिडियालाई त्यही दायित्व निर्वाह गर्दा कसैले पनि कुदृष्टि राख्न नहुने बताएको छ ।
कांग्रेसले कोरोनाको महामारीबाट गुज्रिरहेको नेपाली प्रेसमाथिको चुनौती कम गर्न विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ ।


नेपालमाला
