भारतमा लकडाउन ३ मेसम्म लम्बियो, सबै मिलेर कोरोना परास्त गर्न प्रधानमन्त्री मोदीको आग्रह

नयाँदिल्ली : भारतमा कोरोना भाइरसको महामारी रोकथामका लागि जारी गरिएको लकडाउन फेरि मे ३ सम्म लम्बिएको छ ।
मंगलबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा विशेष सम्बोधन गर्दै लकडाउन मे ३ तारिखसम्म लम्ब्याउने घोषणा गरेका हुन् । यसअघि घोषणा गरिएको तीन साता लामो लकडाउन आज राति सकिँदैछ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललगायत विभिन्न प्रान्त सरकारले लकडाउन लम्ब्याउनु पर्ने माग गर्दै आएका थिए । मे ३ तारिखसम्म सिंगो भारत लकडाउनमा हुनेछ ।

उनले कोरोनाबाट हुने धेरै नोक्सानीलाई सबै भारतवासी मिलेर देशलाई बचाएको बताए । ‘एक अनुशासित सिपाही जसरी लडेर कोरोनाबाट हुने धेरै नोक्सानीलाई तपाई देशवासीले बचाउनु भएको छ’, मोदीले आफ्नो सम्बोधनमा भने, ‘जुन किसिमले घरमा बसेर अनुशासन देखाउनु भयो यो नमन योग्य छ ।’ उनले लकडाउनले अरवौं रुपैयाँको नोक्सानी बेहार्नु परे पनि मानिसको ज्यानभन्दा ठूलो धन सम्पत्ति नभएको बताए ।

भारतमा कोरोना भाइरसको संक्रमणका कारण १० हजार चार सय ५३ भन्दा धेरै संक्रमित भएका छन् । तीन सय ५८ जनाको मृत्यु हुँदा एक हजार एक सय ८१ जना निको भएका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments