नयाँदिल्ली : भारतमा कोरोना भाइरसको महामारी रोकथामका लागि जारी गरिएको लकडाउन फेरि लम्बिने भएको छ ।
अहिले बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा विशेष सम्बोधन गर्दै लकडाउन लम्ब्याउने भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसअघि तीन साता लामो लकडाउन आज राति सकिँदैछ ।
दिल्लीका मुख्यमन्त्री केजरीवाललगायत प्रान्त सरकारका अधिकारीले लकडाउन लम्ब्याउनु पर्ने माग गर्दै आएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार मोदी सरकारले अप्रिल ३० सम्मका लागि लकडाउन थप्ने निर्णय गर्न लागेको छ ।
यसैबारे मंगलबार मोदीले सम्बोधनको क्रममा घोषणा गर्ने बताइएको छ । प्रधानमन्त्री मोदीले यसअघि भारतीय जनतालाई गत अप्रिल ५ मा कोरोनाविरुद्ध दीप प्रज्वलन गर्न आह्वान गरेका थिए ।
भारतमा कोरोना भाइरसको संक्रमणका कारण १० हजार चार सय ५३ भन्दा धेरै संक्रमित भएका छन् । तीन सय ५८ जनाको मृत्यु हुँदा एक हजार एक सय ८१ जना निको भएका छन् ।