भक्तपुर : कोभिड– १९ महामारीका कारण मध्यपुरथिमिमा वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ पहिलो पटक रोकिने भएको छ । मध्यपुरथिमि नगरपालिकाले यस वर्ष बिस्काः जात्रामा मनाइने सम्पूर्ण जात्रा एवं पर्व जात्राकैरुपमा कुनै भीडभाड गरेर नमनाई औपचारिकरुपमा पूजामा मात्र सीमित गर्ने निर्णय गरेपछि सञ्चालकले यो जात्रा पनि रोकेका हुन् ।
मध्यपुरथिमि नगरपालिकाका प्रम्ुख मदनसुन्दर श्रेष्ठ भन्नुहुन्छ, “यस वर्ष जिब्रो छेड्ने जात्रा नहुने र महालक्ष्मी मन्दिर परिसरमा लिङ्गो पनि नउभिने जानकारी दिँदै सबै गुठीयारलाई देवदेवीलाई घरभित्रै विधिविधान पु¥याएर पूजा गर्न भनेका छौँ । कोरोनाको सङ्क्रमण फैलिन ननिद थिमिको प्रसिद्ध ३२ घटसहितको सिन्दुर जात्रालगायतका सबै जात्रा रोकिने भएको छ, सोही बमोजिम निर्णय भएको छ ।” कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले बन्दाबन्दीको घोषणा गरेको र अत्यधिक भीडभाड हुने यस्ता जात्रा एवं पर्वले सङ्क्रमण बढ्न सक्ने भएकाले जात्रालाई औपचारिक पूजामा सीमित गर्ने भएको जात्रा सञ्चालक बोडेका बासिन्दा बताउँछन् ।
वर्षैंदेखि जिब्रो छेडेर जात्रा धान्दै आएका व्यक्तिहरु भने भीडभाड नगरी जात्रा सञ्चालन गर्नुपर्ने तर्क राख्दै एक वर्ष जात्रा रोक्दा पछिल्ला वर्षहरुमा पनि रोकिएर लोप हुने अवस्थामा पुग्नसक्ने चिन्ता व्यक्त गर्छन् । आठ वर्ष जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका बोडेका जुजुभाई बाँस श्रेष्ठले कोरोना भाइरसको त्रासका कारण यस वर्ष विश्व प्रसिद्ध जात्रा नै रोक्नुपर्ने अवस्था आउनु आफ्ना लागि पीडादायिक भएको बताउनुहुन्छ ।
“जिब्रो छेडेर टोलटोल घुम्ने यो जात्रा बोडेको मात्र होइन देशको एक विश्व प्रसिद्ध जात्रा हो, यो जात्रा कुनै हालतमा रोक्नु हँुदैन भनेर पुर्खादेखि हामीले पनि निरन्तर चलाउँदै आएका छौँ” जुजुभाईले भन्नुभयो, “तर यस वर्ष जात्रा रोकिने भयो, अब पछिल्ला वर्षमा पनि रोकिएला कि भन्ने चिन्ता लाग्न थालेको छ ।”
जिब्रो छेड्ने, छेडाउने, नाइके, पुजारीलगायतका जात्रा सञ्चालन गर्ने मुख्य व्यक्तिलाई मात्र समावेश गरी प्रहरी प्रशासनले अन्य व्यक्तिलाई आउन नदिई छोटो गरी जात्रा चलाउन सरोकारवालाहरुबीच छलफल गरेको भए पनि नमानेपछि अन्ततः जात्रा रोकिने भएको हो । मानव भीडमा एकजना मात्र सङ्क्रमति व्यक्ति आयो भने त्यसले एकै पटक हजाराँैलाई कारोना भाइरस सार्नसक्ने भएकाले देशको विषम परिस्थितिलाई बुझेर टोलबासी पनि मूलपूजा र क्षमापूजा मात्र गरेर यस वर्ष जिब्रो छेड्ने जात्रा रोक्न सहमत भएका छन् ।
विगतका वर्षमा जात्रा सञ्चालनमा सहयोग पु¥याउँदै आएको बोडे स्पोर्टस् क्लबका अध्यक्ष दीलकृष्ण प्रजापति स्थानीयवासीको धार्मिक विश्वासका आधारमा अर्थ सङ्कटमा समेत नरोकिएको यो जात्रा यस वर्ष रोकिँदा आगामी वर्षमा निरन्तरता नहोला भन्ने चिन्ता रहेको बताउनुहुन्छ । जात्रा मनाउँदा बोडेमा महाभूकम्प, अनावृष्टि, अतिवृष्टि, अनिकाल, माहामारी नहुने जनविश्वास रहदै आएको बताउँदै उहाँले सुरक्षाकर्मीको घेराभित्र सञ्चालन गर्न छलफल गरे पनि प्रहरी प्रशासन सकारात्मक नभएपछि जात्रा रोक्नैपर्ने अवस्थामा पुगेको बताउनुभयो ।
यो जात्रामा धिमाय बजाउँदै आउनुभएका लाफ धिमायः खलका ९४ वर्षीय बुद्धिकुमार सिपाहीले भन्नुभयो, “परापूर्वकालदेखि चल्दै आएको जिब्रो छेड्ने जात्रा अहिलेसम्म देशमा जस्तोसुकै सङ्कट आउँदा पनि रोकिएको थाहा छैन, अब यस वर्ष रोकिदा सधैँ रोकिएला भन्ने चिन्ता लागेको छ ।”
गत वर्षसमेत गरी सात पटक जिब्रो छेड्नुभएका ४८ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठ यसवर्ष जात्रा रोकिने भएपछि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा एम्बुलेन्स चलाउनै ब्यस्त हुनुहुन्छ । अस्पतालले कोरोना सङ्क्रमित बिरामी बोक्न तयार पारेको आइसोलेटेड एम्बुलेन्सको चालक उहाँ धार्मिक र मानवीय सेवामा आफू लागिरहेको बताउँदै आफ्नो ठाउँको सँस्कृतिको जगेर्ना र देशवासीको भलाइका लागि आगामी वर्ष जात्रा नरोकिने बताउनुहुन्छ ।
मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्ति अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त जिब्रो छेडिएको सुइरो झिकेर सुइरो महालक्ष्मी मन्दिरमै ठोकेर जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने परम्परा छ ।
जात्रा सञ्चालन गर्न गुठियारहरुले देवतालाई द्योछेँबाट निकालेर खटमा राखेर घुमाउने र टोलटोलका बासिन्दाले पूजा गर्ने परम्परा रहेपनि यसवर्ष भने गुठियारले देवता ननिकाल्ने भएका छन् । जात्रा रोकिदा अनष्टि नहोस भनेर जात्रा पछि क्षमापूजा गर्ने तयारी गरिएको छ । जिब्रो छेड्ने जात्रा रोकिने भएपनि नकर्मी नाइके धर्मलाल नकर्मीले चैत १८ गते नै करिब एक फिट लामो सुइरो विधिवत रुपमा तयार पारेर तेलमा डुबाएर राखेका छन् । हालसम्म अर्थात् १०६ वर्षमा १२ जनाले निरन्तर जिब्रो छेड्ने गरेका छन् ।
अहिलेसम्म जिब्रो छेड्ने व्यक्तिहरु
हरेक वर्षको वैशाख २ गते बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा जिब्रो छेड्ने काम हुने गर्दछ । यसरी वि.स. १९६९ देखि १९९० सम्म हर्कनरसिंह बासँश्रेष्ठ (जुजुभाईका बाजे), ले २२ पटक, वि.स. १९९१ देखि २०२२ सम्म बेखानारायण हायश्रेष्ठले ३२ पटक, २०२३ मा हरिदेव किलाश्रेष्ठ, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन र २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सालसम्म दीलकुमार खपे श्रेष्ठले सात र २०४७ मा मुनि घों श्रेष्ठले एक पटक जिब्रो छेड्नुभएको छ ।
त्यसैगरी २०४८ मा धर्मराज बलाय श्रेष्ठले, २०४९ देखि २०६० सम्म १२ पटक कृष्णचन्द्र बाग श्रेष्ठले, उहाँका भाई बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सम्म र २०७३ देखि २०७५ सम्म सात पटक तथा जुजुभाई बासँ श्रेष्ठले २०६५ देखि २०७२ सम्म आठ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आउनुभएको छ । बाजे हर्कनारायण अगाडि पनि निरन्तर रुपमा जिब्रो छेड्ने जात्रा सञ्चालन भएको र कुनै वर्ष नरोकिएको जानकारी बाबुबाजेबाट थाहा पाएको जुजुभाई बताउनुहुन्छ । एक सय छ वर्षसम्म जिब्रो छेडाउनेहरुको नामावली स्थानीय तहमा रहेको र त्यसअघिका व्यक्तिको नामावलीको रेकर्ड नभए पनि जात्रा भने कहिल्यै नरोकिएको जिब्रो छेडाउदै आएकाहरुको भनाइ छ ।
जात्राको यस्तो किंवदन्ती
यो जात्राका विषयमा दुई फरक फरक किंवदन्ती छन् । पहिलो किंवदन्तीअनुसार प्राचीनकालमा बोडेको तल धर्मपुरमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत, पिशाच, ख्याक तथा कङ्काल (बउचा) ले बोडेका मानिसलाई धेरै दुःख दिने गरेपछि तान्त्रिक भीमदत्त कर्माचार्यले तान्त्रिक विधाले बोडेभरि पासो राखिदिए । बोडेमा दुःख दिन आएको ख्याक तान्त्रिक भीमदत्तको पासोमा प¥यो । भीमदत्तले लामो कपाल, लामो जिब्रो, डरलाग्दो पिशाच नीलबाराहीको दाहिने पाले भएको थाहा पाएपछि उसको कपाल काटे, लुगा फुकाले र लामो सियो जवर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घँुघरु बाँधिदिए ।
पिशाचको जिब्रो छेडी बलेको महाद्वीप काठको गह्रौँ भारी बोकाएर बोडे घुमाए । कष्ट सहन नसकी पिशाचले आपूmलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भने झैँ सात वर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंबदन्ती छ । एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि क्षमापूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायमै छ ।
दोस्रो किंवदन्ती
धर्मपुरमा मान्छेहरु खेतीपाती गरेर परिवार चलाइरहेका थिए । धर्मपुरदेखि माथिको डाँडा बोडेमा भने त्यति आवतजावत थिएन । त्यसैले बोडेमा के छ भन्ने थाहा थिएन । बस्ती छाडेर माथिल्लो डाँडामा जान उनीहरु डर मान्थे । एकदिन आगो बोकेर डाँडाबाट कोही आएको जस्तो देखियो र मानिसहरु हेर्न गए । आगोको ज्वाला बोकेको मान्छेको पछिपछि लाग्दा महालक्ष्मी मन्दिर भएको ठाउँ पुगरे अलप भयो । अर्को दिन पनि त्यसैगरी आगो बोकेर आएको मान्छे देखियो । कहाँ गयो भनेर हेर्दा कालिकामाई भएको ठाउँमा अलप भयो ।
हातमा आगो बोकेको, जिब्रो निकालेको स्वरुप हरेक रात आउने र मन्दिरमा पुगेर अलप हुने गरिरहेको थियो । हरेक दिन मान्छे त्यही स्वरुपलाई पछ्याउँदै जाँदा मन्दिरको परिक्रमा गरिरहेका थिए । त्यो उनीहरुको नियमित काम जस्तो बन्न थाल्यो । महालक्ष्मी मन्दिरभित्र गएर सिद्ध भएकाले जिब्रो छेडेर आउने स्वरुप भैरवको भएको र भैरवले त्यही काम निरन्तर गरुन् भनेर आराधना गरेको विश्वासमा स्थानीयले निरन्तर त्यही गर्न थाले ।
वर्षमा एकदिन भए पनि सबै मान्छे भैरवले जस्तै देउता घुमौँ भनेर लाग्दा त्यसले त जिब्रो पनि निकालेको थियो नि भन्ने कुरा उठ्यो । त्यसैले मानिसहरुले जिब्रो छेडेर लगातार जिब्रो निकाल्दै मन्दिरहरु परिक्रमा गर्ने काम गर्न थाले । त्यसले खेतीपातीसँगै स्थानीयको स्वास्थ्य राम्रो भएको विश्वास गरियो । त्यसैले अहिले पनि जिब्रो छेडदा स्थानीयले हातमा चिराग लिएर जाने गर्छन् । महालक्ष्मी मन्दिरको माटो हालेपछि जिब्रोमा छेडिएको घाउ निको हुन्छ भन्ने विश्वासमा गरिन्छ ।
स्थानीय बुढापाकाले भने दुवै किंवदन्ती सुन्दै आएको भएपनि कुन सत्य हो भन्न नसकिएको बताउँछन् । यद्यपि जिब्रो छेडाउँदै आएका बुद्धकृष्ण भने पहिलो किंवदन्ती सत्य नरहेको दाबी गर्दै जिब्रो छेड्ने व्यक्ति कुनै ख्याक वा राक्षस नभई देवता भएको बताउनुहुन्छ ।