न्युयोर्क : विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमित बिरामीहरूमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले उत्साहजनक नतिजा देखाएको छ । अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार कोरोना भाइरसबाट संक्रमित ५३ जना बिरामीमा गरिएको औषधीको परीक्षणले सकारात्मक परिणाम दिएको बताइएको छ ।
उनीहरूलाई भाइरसविरुद्ध प्रयोग गर्ने गरिएको रेम्डेसिभिर नामक औषधी दिइएको थियो । उनीहरूमध्ये दुई तिहाइलाई रेम्डेसिभिरले निकै फाइदा गरेको बताइएको छ ।
परीक्षणमा सहभागी ३० जना बिरामीमध्ये १७ जनालाई त्यो औषधी दिइएपछि उनीहरूको अवस्थामा सुधार भएको थियो र उनीहरूलाई सास फेर्न सहज बनाउने भेन्टिलेटरबाट निकालिएको थियो ।
त्यो अध्ययनमा सहभागी वैज्ञानिकहरूले परीक्षणको परिणामलाई सुखद र आशाको किरण भनेका छन् । तर उनीहरूले थप अध्ययन र तथ्यांक उपलब्ध भएपछि मात्र सही निष्कर्षमा पुग्न सकिने बताएका छन् । रेम्डेसिभिर औषधीको बृहत्तर परीक्षणको परिणाम केही साताभित्रै आउने जनाइएको छ ।
यसअघि रेम्डेसिभिर औषधीको अर्को परीक्षण बेलायतको इङ्ल्यान्ड र स्कटल्यान्डमा सुरु गर्न लागिएको जनाइएको थियो । सरकारले अनुमति दिएपछि त्यहाँका १५ वटा स्वास्थ्य संस्थामा त्यसको परीक्षण थाल्न लागिएको घोषणा दुई साता अघि भएको थियो ।
गिलियडले बेलायतमा कोरोनाका सामान्य लक्षण भएका बिरामीमा त्यसको परीक्षण सुरु गरेको थियो । त्यसको नेतृत्व संक्रमण रोगका परामर्शदाता डाक्टर एन्ड्रयु युस्टियानोस्कीले गरेका छन् । त्यो औषधीको चीनमा पनि परीक्षण जारी रहेको बताइएको छ ।