न्युयोर्क : अमेरिकामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ । विश्वभर १७ लाख ७८ हजार २१० जना संक्रमित हुँदा अमेरिकामा मात्रै ५ लाख ३२ हजार ९२ जना संक्रमित भेटिएको छ ।
शनिबार मात्रै २९ हजार २१६ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै विश्वभर एक लाख ८ हजार ७७० जनाको ज्यान जाँदा अमेरिकामा मात्रै २० हजार ५७७ जनाको ज्यान गएको छ ।
अमेरिकामा विगत २४ घण्टामा १ हजार ८२५ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ३० हजार २९८ जनालाई मात्र निको भएका छन् ।
संक्रमणमा स्पेन दोस्रो स्थानमा छ । एक लाख ६३ हजार २७ जना संक्रमित हुँदा १६ हजार ६०६ जनाको ज्यान गएको छ । तेस्रो स्थानको इटालीमा एक लाख ५२ हजार २७१ जना संक्रमित हुँदा १९ हजार ४६८ जनाको ज्यान गएको छ ।
चौथो स्थानको फ्रान्समा एक लाख २९ हजार ६५४ जना संक्रमित हुँदा १३ हजार ८३२ जनाको ज्यान गएको छ । जर्मनीमा एक लाख २५ हजार ४५२ जना संक्रमित हुँदा दुई हजार ८७१ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी चीनमा ८१ हजार ९५३ जना संक्रमित हुँदा तीन हजार ३३९ जनाको ज्यान गएको छ । बेलायतमा ७८ हजार ९९१ जना संक्रमित हुँदा ९ हजार ८७५ जनाको ज्यान गएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यमा पनि सुधार हुँदै गएको छ ।
इरानमा ७० हजार २९ संक्रमित हुँदा चार हजार ३५७ जनाको ज्यान गएको छ । भारतमा ८ हजार ४४६ जना संक्रमित हुँदा दुई सय ८८ जनाको ज्यान गएको छ । त्यस्तै पाकिस्तानमा ५ हजार ११ जना संक्रमित हुँदा ८६ जनाको ज्यान गएको छ ।