काठमाडौं : इटालीमा लकडाउनको समय २१ दिन लम्ब्याइउको छ । अब इटालीमा मे ३ सम्म लकडाउन हुनेछ । इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले मुलुकमा जारी रहेको लकडाउनको समय मे ३ सम्मका लागि बढाउने निर्णय गरेका हुन् ।
इटालीमा मार्च ९ मा पहिलोपटक लकडाउनको घोषणा गरिएको थियो । यो लकडाउन अप्रिल ३ सम्मका लागि घोषणा गरिएको थियो ।
पछि लकडाउनको समय १३ अप्रिलसम्म लम्ब्याउने निर्णय गरिएको थियो । इटालीमा अझै पनि कोरोना भाइरसको महामारी नरोकिएपछि थप २१ दिन बढाएर मे ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरिएको हो ।
इटालीमा लकडाउनले संक्रमित र मृत्यु हुनेको संख्यामा पनि असर देखिन थालेको छ । शुक्रबार सार्वजनिक गरिएको तथ्यांक अनुसार इटालीमा पछिल्लो २४ घण्टामा पाँच सय ७० जना मानिसको भाइरसका कारण मृत्यु भएको थियो ।
यो पछिल्लो एक सातायताकै कम हो । तर, इटाली विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेमा सबैभन्दा प्रभावित मुलुक हो । अहिलेसम्म यो मुलुकमा १८ हजार आठ सय ४९ जना मानिसको मृत्यु भइसकेको छ । अहिले पनि कोरोना भाइरसबाट ९८ हजार दुई ७३ जना संक्रमित छन् ।