कीर्तिपुर : कीर्तिपुर नगरपालिका वडा नम्बर ४ ले नमुना किसिमले राहत वितरण सुरु गरेको छ । बिहीबारबाट सुरु गरिएको राहत वितरणमा थर्मल गनबाट ज्वरोको परीक्षण र सामाजिक दूरी कायम गरी राहत वितरण गरिएको वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र बानियाँले जानकारी दिए ।
‘हामीले नमुना किसिमले राहत वितरण गरेका छौं । थर्मल गनले ज्वरो नाप्ने, साबुन पानीले हात धुने, सामाजिक दूरी कायम राखेर बैज्ञानिक किसिमले राहत वितरण गरेका छौं’, वडा अध्यक्ष बानियाँले भने, ‘कोटा अनुसारको खाद्यान्न छ छैन भनेर आफैले तौल गरेर लैजान सकिने व्यवस्था समेत गरेका छौं ।’ उनले राहत वितरणमा सहभागीलाई माक्स वितरण गरी कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायका बारेमा पनि जानकारी दिएको बताए ।
उनले राहत पाउने व्यक्तिहरुको छनोट र पहिचान पनि सबैको सहमतिका आधारमा गरिएको बताए । ‘कीर्तिपुर नगरमै सर्वदलीय बैठक गरेर सर्वसम्मतिका रुपमा राहत पाउने व्यक्तिहरुको पहिचान गरिएको छ’, उनले भने वडा कार्यालयमा नाम दर्ता, नामावली प्रकाशन र कुपन वितरण गरेर मात्रै राहत वितरण गरिएको छ ।’
यस वडामा राहतका लागि ६ सय ५१ जना रहेकोमा बिहीबार तीन सय ४२ जनालाई वितरण गरिएको थियो । बाँकीलाई शुक्रबार वितरण गरिने वडा कार्यालयले जनाएको छ ।
सरकारको एकद्वार प्रणालीबाट वितरण गरिएको राहतमा दुई जनासम्मका परिवारलाई ६ केजी चामल, सोही अनुपातमा दाल, नुन र तेल वितरण गरिएको थियो । यसैगरी चार जना सम्मकालाई १२ केजी, चार जनामाथिकालाई १८ केजी र ६ जना माथिका परिवारका लागि २० केजी चामल वितरण गरिएको थियो । सोही अनुपातमा दाल, नुन र तेल पनि वितरण गरिएको थियो ।
राहत वितरणको संघीय सांसद राजन केसी र प्रदेश ३ का सांसद पुकार महर्जनलगायतले अनुगमन गरेका थिए । उनीहरुले वडा नम्बर ४ ले नमुना किसिमले राहत वितरण गरेकाले यसको सिको अरु वडाले पनि गर्नुपर्नेमा जोड दिएका थिए ।
कीर्तिपुर नगरपालिकाले १० वटै वडाका चार हजार १६ घरपरिवारलाई बिहीबारबाट राहत वितरण थाले अनुरुप वडा नम्बर ४ ले पनि राहत वितरण गरेको हो । नगरपालिकाले २४ लाख बराबरको खाद्यान्न वितरण गर्ने तयारी गरेको छ ।