काठमाडौं : सरकारले ‘लकडाउन’का कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो ।
११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेका छन् । विद्यार्थी तथा विभिन्न क्षेत्रमा काम गर्नेहरु गाउँ फर्किन हतारिएपछि शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय गरिएको हो ।
लगातारको लकडाउनका कारण विद्यार्थी तथा मजदूरहरु भोकभोकै परेको भन्ने समाचार लगातार आउन थालेपछि सरकारले यस्तो निर्णय गरेको बुझिएको छ ।
काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पु¥याइदिने निर्णय बैठकले गरेको छ । छोटो दुरीको हकमा कसरी जान दिने भन्ने तय भइसकेको छैन ।
दुई दिन उपत्यकाबाट बाहिरी जिल्लामा जान दिइए पनि उपत्यका बाहिरबाट काठमाडौं आउन दिइने छैन ।
सरकारले यसअघि चैत ११ गतेदेखि वैशाख ३ गतेसम्म लकडाउनको घोषणा गरेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । जसमध्ये एकजना भने निको भएर डिस्चार्ज भएका छन् ।