कीर्तिपुर : कीर्तिपुर नगरपालिकालाई खाद्यान्न सहयोग भएको छ । नगरपालिकाको विपद् व्यवस्थापन शाखाका अनुसार नगरपालिकाभित्र सञ्चालित शिखर दीप बहुउद्देश्यीय सहकारी संस्थाले चामल, तेल तथा दाल सहयोग गरेको हो ।
उक्त सहकारीका प्रबन्धक लीलानाथ गौतमले सोमबार शाखालाई रु डेढ लाखका सामानमा २५ किलोको ७० बोरा चामल, एक सय किलो बराबरको दाल र एक सय ५० लिटर बराबरको तेल हस्तान्तरण गरेको उपप्रमुख एवं प्रवक्ता सरस्वती रिजालले जानकारी दिनुभयो ।
त्यस्तै नगरपालिकाले सुख्खा बन्दरगाह चोभारमा कार्यरत कामदारलाई खाद्यान्न सहयोग गरेको छ । प्रवक्ता रिजालका अनुसार चोभारमा कार्यरत सात कामदारलाई चामल, तेल, चिनी, चिउरा र दालमोठ दिइएको छ । त्यस्तै नगरपालिकामा रहेका महिला दुई छात्रावासलाई चामल, तेल र दाल सहयोग गरियो ।
नगरपालिकाले नगरभित्रका दैनिक मजदूरी गर्ने कामदार तथा बाहिरी जिल्लाबाट आएका र विपन्न स्थानीयवासीलाई राहत वितरणको तयारी गरेको छ । नगरापालिकाका दशै वडाका चार हजार १६ घरपरिवारलाई बिहीबार रु २४ लाख बराबरको खाद्यान्न वितरण गर्ने तयारी गरेको छ । त्यस्तै नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा राहतको व्यवस्थापन गर्नका लागि आकस्मिक राहत कोष स्थापना गरेर रु ५० लाख जम्मा गरिसकेको छ ।
चार हजारलाई राहत दिइने
नगरपालिकाले दैनिक ज्याला मजदुरी गर्ने, बाहिर जिल्लावाट आएका र नगरपालिकाभित्र रहेका विपन्न चार हजार घरपरिवारलाई राहत वितरण गर्ने भएको छ । कोभिड–१९ को सम्भावित जोखिम ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि दैनिक गुजारा चलाउन समस्यामा परेका चार हजार १६ घरपरिवारलाई राहत वितरणको तयारी भएको नगरपालिकाले जनाएको छ ।
दशै वडामा रहेका उक्त घरपरिवारमा १६ हजार ६४ जना रहेको नगरपालिकाका उपप्रमुख रिजालले जानकारी दिनुभयो । “हामीलाई वडावाट विवरण आउँदा नै संख्या थपिन सक्छ भन्ने जानकारी आएको छ, चैत २७ गतेसम्म राहत वितरण हुने घरपरिवारको संख्यामा वृद्धि हुन सक्छ”, उहाँले भन्नुभयो ।
सो सङ्ख्यामा ज्याला मजदूरी गर्ने, अन्य जिल्लाबाट आएका र स्थानीय विपन्न परिवारलाई मात्रै समावेश गरिएको प्रवक्ता रिजाल बताउनुहुन्छ । उहाँका अनुसार विभिन्न जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीलाई राहत वितरणमा समावेश नगरी छुट्टै व्यवस्थाको तयारी भएको छ ।
कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखी नेपाल सरकारले गरेको लकडाउनका अवधिमा समस्यामा परेका नागरिकलाई नगरपालिकाले यही चैत २७ गतेदेखि राहत वितरण गरिने जनाएको छ ।
राहत वितरणका लागि नगरपालिकाले साल्ट ट्रेडिङबाट रु २३ लाख ६३ हजार बराबरको खाद्यान्न लिइसकेको छ । नगरपालिकाले दिएको तथ्यांकअनुसार रु ३७ हजारको नुन, रु तीन लाख २० हजारको तेल, रु १५ लाख ३० हजारकोे चामल, रु तीन लाख ३० हजारको दाल र रु एक लाख ४६ हजारको चिनी खरीद गरिएको छ ।
नगरपालिकाले परिवार संख्याका आधारमा राहत वितरणको तयारी गरेको छ । प्रवक्ता रिजालका अनुसार एक जनालाई एक साता पुग्ने अनुमान गरी तीन किलो चामल र परिवार संख्याका आधारमा तेलचिनीलगायत खाद्य पदार्थ वितरण गरिने छ ।
Previous Article
कालोबजारी गरेको आरोपमा अग्रवाल पक्राउ
Next Article