टोकियो : जापानी प्रधानमन्त्री सिन्जो आबेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देशका केही मुख्य सहरमा संकटकाल लगाउने प्रस्ताव गरेका छन् ।
कोरोना भाइरसको संक्रमणका घटना लगातार बढ्न थालेपछि प्रधानमन्त्री आबेले थप क्षति हुन नदिन संकटकाल लगाउने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको जापानले एक ट्रिलियन डलरको राहत प्याकेज पनि घोषणा गरेको छ ।
संकटकालको घोषणा यही मंगलबारदेखि लागु हुने छ । पछिल्लो समय जापानमा नयाँ संक्रमितको संख्या बढ्न थालेको छ । ‘हामीले टोकियो र ओसाका जस्ता सहरमा तीब्र गतिमा संक्रमणका घटना बढ्न थालेको छ’, आबेले भने ।
यसअघि टोकियोकी गभर्नर युरिको कोइकेले प्रधानमन्त्रीलाई राजधानी टोकियोमा संकटकाल लगाउन सुझाव दिएकी थिइन् । प्रधानमन्त्रीले संकटकाल लगाए पनि अन्य देशमाजस्तो पूरै सहर नै बन्द नगर्ने जनाएका छन् । विज्ञहरुको सुझाव अनुसार त्यस्तो स्तरको कदम चाल्न आवश्यक नरहेकाले प्रधानमन्त्री आबेले संकटकाल खुकुलो बनाउन लागेका हुन् ।
प्रधानमन्त्री आबेले टोकियो, साइतामा, चिबा, खानागाभा, ओसाका, होङ्ग्यो र फुकुओका सहरमा संकटकाल लगाउने घोषणा गरेका छन् ।