काठमाडौं : कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले विगत दुई सातादेखि गर्दै आएको ‘लकडाउन’को अवधि फेरि एक साता बढाउने भएको छ । अब आगामी वैशाख ३ गतेसम्म मुलुक लकडाउनमा हुनेछ । आइतबार साँझ बसेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन अवधि फेरि एक साता थप गर्नका लागि सिफारिस गरेको बुझिएको छ । यसअघि घोषणा गरेको लकडाउनको अवधि मंगलबार राति १२ बजे सकिँदैछ ।
सोही निर्णय अनुमोदनसहित अन्य विषयमा छलफल गर्नका लागि आज ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ । यसअघि पनि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको समितिको सिफारिसमा ‘लकडाउन’को अवधि एक साता थप गरिएको थियो ।
भारतमा पहिलो चरणमा घोषणा गरिएको २१ दिने लकडाउन बैशाख २ गते राति समाप्त हुँदैछ । नेपालले पनि भारतले घोषणा गरेको मितिसम्म लम्ब्याउन लकडाउनको अवधि एक साता थप्न लागिएको जनाएको छ । बैशाख २ पछि भारतमा लकडाउन नगर्ने निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीले गरिसकेका छन् । बैशाख ३ पछि नेपालमा लकडाउन फेरि लम्ब्याउने वा आंशिक खुला गर्ने भन्ने निष्कर्षमा सरकार पुगिसकेको छैन ।
भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म एक सय १८ जनाले ज्यान गुमाइसकेका छन् । चार हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।
नेपालमा भने अहिलेसम्म ९ जनामा कोराना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने ८ जनाको उपचार भइरहेको छ ।
पहिलो चरणमा ११ चैतदेखि १८ चैतसम्मको समय थप गरिएकोमा दोस्रो पटकको निर्णयबाट २५ चैतसम्म लम्बाइएको थियो । सोमबारको मन्त्रिपरिषद् बैठकबाट ३ बैशाखसम्म लकडाउन अवधि थप्ने निर्णय हुने स्रोतले जनाएको छ ।
यसअघि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन थप कडाइका साथ लागू गर्ने निर्णय गरेको थियो ।