बाघमा पनि देखियो कोरोना संक्रमण

काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जनावरमा पनि देखिएको छ । यसअघि मानिसबाट मानिसमा मात्रै सर्दै आएको भनिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो पटक एक बाघमा पनि देखिएको छ ।

अमेरिकाको न्युयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको चार वर्षको मलायन पोथी बाघमा कोरोना भाइरस देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले बाघमा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको चिडियाखानाले जनाएको छ ।
चिडियाखानामा काम गर्ने व्यक्तिबाटै बाघमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको बीबीसीले जनाएको छ ।

‘हामीले अति सावधानीपूर्वक बाघको परीक्षण गरेका छौं र कोभिड–१९ बारे प्राप्त यो ज्ञान नोवल कोरोना भाइरसलाई बुझ्नका लागि विश्वले गरिरहेको प्रयासलाई योगदान गर्ने विश्वास दिलाउन चाहन्छौं’ आइतबार चिनियाखाना प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
भाइरस संक्रमणका कारण बाघको दैनिक खानपान घटेको छ । भेटेरिनरी सेवाअन्तर्गत रहेको बाघ तेजिलो र चनाखो नै रहेको चिडियाखानाले बताएको छ ।

चिडियाखानामा काम गर्ने मानिसबाट बाघलाई कोरोना सरेको हो भने अर्को विशेष अनुसन्धान पनि गर्नुपर्ने जनाइएको छ ।
संक्रमित व्यक्तिले जनावर र जनावरबाट पनि अरु जनावरमा सर्ने भएकाले चाँडो नै विशेष अनुसन्धान गर्नुपर्ने माग गरिएको छ । कोरोना भाइरस साँच्चिकै मानिसबाट जनावरमा सरेको हो भने यसले अझ भयावह स्थिति ल्याउन सक्नेतर्फ पनि सतर्क गराइएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments