काठमाडौं । गन्ध र स्वाद थाहा नपाउनु पनि कोरोना भाइरस (कोभिड–१९) को लक्षण हुनसक्ने बेलायती अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । लण्डनको किङ्ग्स कलेजको एक टिमले करोना भाइरसको शंकास्पद लक्षण एउटा एपमा रिपोर्ट गर्ने करिव ४ लाख मानिसको डाटाको अध्ययन गरेका छन् । रुघाखोकी र श्वासप्रश्वासमा गाह्रो हुनेबाहेक स्वाद र गन्ध थाहा नपाउनु पनि कोभिड–१९ को लक्षण हुनसक्ने उनीहरुको अध्ययनबाट देखिएको छ ।
विशेषज्ञहरुले भनेका छन् कि अहिले पनि उच्च ज्वरो र सुख्खा खोकी कोरोना संक्रमणको सम्भावित मुख्य लक्षण हो, जसलाई नजरअन्दान गर्न हुँदैन ।
तर किङ्ग्स कलेजले गरेको अध्ययनले थप केही संकेत गरेको छ । कोभिड सिम्टम ट्र्याकर एपमा कोरोनाको आशंकामा रिपोर्ट गर्नेहरुले यस्तो भनेका थिए ।
- ५३ प्रतिशतले थकान महसुस हुने गरेको
- २९ प्रतिशतले लगातार खोकी लागेको
- २८ प्रतिशतले श्वासप्रश्वासमा अप्ठ्यारो भएको
- १८ प्रतिशतले स्वाद वा गन्ध थाहा नपाउने गरेको
- १०.५ प्रतिशतले ज्वरो आएको
यसरी कोभिड सिम्टम ट्रयाकर एपमा शंकास्पद लक्षण दर्ता गर्नेमध्ये एक हजार सात सय दुई जनाको कोरोना परीक्षण भएको छ र, उनीहरु मध्ये पाँच सय ७९ लाई संक्रमण भएको पुष्टि भएको छ । जसलाई कोरोना संक्रमण भएको पुष्टि भयो, उनीहरु मध्ये ५९ प्रतिशतले सुघ्न र स्वाद चाख्ने क्षमता गुमाएको नसकेको बताएका थिए ।
तर विशेषज्ञहरुले भने अहिले नै सुंघ्न र स्वाद थाहा नसक्नुलाई कारोनाको लक्षण मान्न नसकिने बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र पब्लिक हेल्थ इंग्ल्याण्डले पनि यसलाई कारोनाको प्रमुख लक्षणको सूचीमा राखेको छैन ।
बेलायतका आँखा, नाक कान र घाँटीका विशेषज्ञ डाक्टरहरुको प्रतिनिधि समूह ईएनटी यूकेकाअनुसार कोरोना भाइरसका संक्रमणहरुले कुनै चिजको गन्ध वा स्वाद थाहा नपाएको भन्नु आश्चर्यको कुरा होइन । तर यस्तो लक्षण कोरोना संक्रमणमा मात्र हुँदैन ।
किङ्गस कलेजका शोधकर्ताहरुले पनि कुनै चिजको गन्ध वा स्वाद थाहा नपाएको कोरोना संक्रमणको अतिरिक्त लक्षण हुनसक्ने तर प्रमुख लक्षण नभएको स्वीकार गरेका छन् । कोरोना संक्रमणको पुष्टि हुने प्रमुख लक्षण अहिले पनि उच्च ज्वरो, सुख्खा खोकी र श्वासप्रश्वासमा कठिनाई नै हो ।