काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ९० हजार नाघेको छ । शुक्रबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या एक लाख ९० हजार ६५४ पुगेको छ ।
सबैभन्दा धेरै अमेरिकामा ४९ हजार ८४५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । इटलीमा २५ हजार ५४९, स्पेनमा २२ हजार १५७, फ्रान्समा २१ हजार ८५६ तथा बेलायतमा १८ हजार ७३८ ले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।
चीनको वुहानबाट कोरोना सुरु भएयता अहिलेसम्म विश्वभर २७ लाख १८ हजार ६९९ मा कोरोनाको संक्रमण देखिसकेको छ । जसमध्ये अहिले १७ लाख ८२ हजार ४२५ को उपचार भइरहेको छ । उपचाररतमध्ये ५९ हजार ६७८ को अवस्था गम्भीर रहेको छ ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट सात सय २१ जनाले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म २३ हजार ३९ जनामा यसको संक्रमण देखिएकोमा पाँच हजार १२ जना उपचारपछि निको भइसकेका छन् ।
नेपालमा भने कोरोना संक्रमणका कारण आजसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन । ४७ जनामा संक्रमण देखिएको छ । जसमध्ये ९ जना निको भएर घर फर्किसकेका छन् । उपचाररतको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले ८६ जना आइसोलेसनमा छन् भने १० हजार ५७३ क्वारेन्टाइनमा छन् ।
अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या ५० हजार नजिक
अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० हजार नजिक पुगेको छ । बिहीबार एकैदिन दुई हजार तीन सय २५ जनाको मृत्यु कोरोना भाइरसको संक्रमणबाट भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ हजार ८४५ पुगेको छ ।
त्यस्तै कोरोनाबाट संक्रमित हुनेको संख्या पनि नौ लाख नजिक पुगेको छ । बिहीबार ३१ हजार ४८७ जना कोरोना संक्रमित थपिएका थिए । योसँगै संक्रमित हुनेको संख्या आठ लाख ८० हजार २०४ पुगेको छ ।
अमेरिकामा हालसम्म करिब ४७ लाख व्यक्तिमा कोरोना परीक्षण गरिएको छ। संक्रमितमध्ये करिब ८६ हजार बिरामी निको भएर घर फर्किएका छन् भने १५ हजार व्यक्तिहरु गम्भीर रहेका छन् ।
अमेरिकामा सबैभन्दा बढी प्रभावित न्युयोर्क रहेको छ । न्युयोर्कमा २० हजार बढीको मृत्यु कोरोनाबाट भएको छ भने २ लाख ६८ हजार बढी संक्रमित रहेका छन्। त्यस्तै न्युजर्सीमा एक लाख संक्रमित रहेका छन् भने ५४ सय बढीको मृत्यु भएको छ ।