काठमाडौं : समाजवादी र राष्ट्रिय जनता पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन् । मध्यरातमा पार्टी एकताको सहमति गरेका दुई दलका नेताहरु त्यसबारे जानकारी गराउन आयोग कार्यालय पुगेका हुन् ।
दुई दलले पार्टी एकता गरेर जनता समाजवादी पार्टी बनाउने सहमति मध्यरातमा गरेका थिए । विभाजनको चर्चाबीच राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार मध्यरातमा एकता भएको थियो
राजपा र समाजवादी एकतापछि उनीहरुको संघीय संसदमा उनीहरुको संख्या ३४ पुगेको छ । यसअघि राजपा र समाजवादीमा १७ १७ सांसद थिए । त्यस्तै एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीको राख्ने सहमति गरिएको छ। त्यसैगरी चुनाव चिन्ह भने राजपा नेपालले प्रयोग गर्ने छातालाई राख्ने सहमति गरिएको छ। प्रधानमन्त्री ओलीको निर्देशनमा अपहरण शैलीमा सुरेन्द्र यादवलगायतका केही नेताहरुलाई राजधानीको मेरिएट होटलमा ल्याएर राखिएको आरोप समाजवादी पार्टीले लगाएको छ। सुरेन्द्र लगायतका नेताहरु बिहीबार बिहान बाबुरामलगायत एकीकृत पार्टीका नेताको सम्पर्कमा आएका छन्। समाजवादी पार्टीका उपाध्यक्ष एवं सांसद रेणु यादवको नेतृत्वमा पार्टी फुटाएर नयाँ पार्टी बनाउन ती सांसदले हस्ताक्षर गरेका थिए। हस्ताक्षर गर्नेमा यादवसहित सांसद महम्मद इश्तियाक राई, प्रदीप यादव, उमाशङ्कर अरगरिया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादवलगात छन्।। पार्टी एकतापछि नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ। राजपाबाट महन्थ, ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले सहमति-पत्रमा हस्ताक्षर गरेका छन्।