धनगढी : धनगढीका अर्का कोरोना विरामी निको भएर २९ दिनपछि घर फर्केका छन् । धनगढी उपमहानगरपालिका– ५ का ३४ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आएपछि उनलाई मंगलबार घर पठाइएको छ।
कोरोना परीक्षणमा उनका पछिल्ला दुई रिपोर्टको नतिजा नेगेटिभ आएको थियो । सोमबार उनको चौथौ र मंगलबार पाँचौं रिपोर्ट आएको हो । उनी चैत ७ गते दुवईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौंबाट नेपालगञ्ज जहाजमा र त्यसपछि बस, अटोरिक्सा हुँदै चैत ८ गते घर पुगेका थिए ।
दुवईमा पनि विरामी परेका उनलाई, कोरोनाको जस्तै लक्षण देखिएपछि चैत ११ गते सेती प्रादेशीक अस्पताल भर्ना गरिएको थियो । उनको थ्रोट स्वाबको रिपोर्ट चैत १४ गते पोजिटिभ आएपछि उनलाई सेती प्रादेशीक अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
उनका परिवारका ८ जना मध्ये, ३४ वर्षीय भाउजूलाई पनि कोरोना पाजिटिभ देखिएपछि, उनी पनि सेती प्रादेशीक अस्पतालको आइसोलेसनमा छन् ।
सेती प्रादेशीक अस्पतालमा सुरुमा पाँच कारोना संक्रमितको उपचार भएको थियो। आइतबार २१ वर्षीय युवक १६ दिनमा कोरोनालाई जितेर डिस्चार्ज भएका थिए ।