काठमाडौं : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मृत्यु नै भइसकेको हुन सक्ने हल्ला अमेरिकी सञ्चार माध्यमले फैलाएका छन् । केही दक्षिण कोरियाली सञ्चार माध्यमलाई हवाला दिँदै अमेरिकी सञ्चार माध्यमले अप्रिल १२ मा मुटुको .शल्यक्रिया गरेका किमको अवस्था शंकास्पद् रहेको जनाएको छ ।
मुटुको शल्यक्रियापछि उनी अस्पतालमै आराम गरिरहेको जनाइए पनि पछिल्लो समय एक विशेष समारोहमा उपस्थित नभएपछि उनको विषयमा विभिन्न आशंका गरिएको छ । यही आशंकालाई अमेरिकी सञ्चार माध्यमले उनको मृत्यु भइसकेको र त्यसको आधिकारिक पुष्टि नगरी लुकाइराखेको हुनसक्ने अनुमान गरेको छ ।
किमका हजुरबुबाको अप्रिल १५ मा जन्म जयन्ती थियो । उत्तर कोरियामा त्यो दिन विशेष किसिमले मनाउने प्रचलन छ । त्यहाँ सार्वजनिक बिदा दिइन्छ भने विभिन्न कार्यक्रम आयोजना गरेर उत्तर कोरियाका जन्मदाता किम इल सुङको जन्म जयन्तीलाई विशेष बनाइन्छ ।
तर, सुङको जन्म जयन्ती कार्यक्रमको उत्तर कोरियाली सञ्चारमाध्यले नै सार्वजनिक गरेको तस्वीरमा किम जोङ उन भने देखिएका थिएनन् । त्यही विषयलाई आधार बनाएर धेरैले किमका बारेमा आशंका गर्दै आएका छन् ।
अप्रिल १२ मा उत्तर कोरियाको अस्पतालमा मुटुको शल्यक्रिया गरिएको किमको अवस्था कस्तो छ भनेर त्यहाँको सञ्चार माध्यमले आधिकारिक रुपमा केही खुलाएका छैनन् । त्यहाँका नेताको विषयमा कुनै पनि जानकारी बाहिर नआउने भएकाले दक्षिण कोरियाली सञ्चार माध्यमको हवला दिँदै अमेरिकी सञ्चार माध्यमले किमको अवस्था शंकास्पद् रहेको जनाएका हुन् ।
अमेरिकी इन्टेलिजेन्सको रिपोर्टमा पनि किमको अवस्था शंकास्पद् रहेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । सीएनएनले इन्टेलिजेन्सले पठाएको रिपोर्टमा किमको अवस्था शंकास्पद् रहे पनि ठ्याक्कै के भएको भन्ने कुरा खुलस्त नपारेको जनाएको छ ।
अत्यधिक तौल, धुम्रपान र कामको चापले पछिल्लो समय किमको स्वास्थ्यमा समस्या देखिँदै आएको थियो । गत अगष्टमै उनलाई मुटुको समस्या देखिएको थियो । किम अन्तिमपटक अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिटब्यूरो कार्यक्रममा सहभागी भएका थिए । त्यसपछि उनी अस्पताल भर्ना भएको समाचारहरूमा जनाइएको छ ।
Previous Article