काठमाडौं : बिहीबार राति एक टेलिभिजनको ‘कोरोना विशेष’ कार्यक्रममा कीर्तिपुरमा बस्दै आएका चार सय विद्यार्थी भोकभोकै बसेको विषयमा चर्चा भयो । प्रत्यक्ष प्रशारण भइरहेको कार्यक्रममा विद्यार्थीले भोकभोकै बस्नु परेको दुखेसो गरेपछि प्रस्तोताले कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनसँग फोनमा सम्बाद गरे ।
उद्घोषकले कीर्तिपुरमा चार सय विद्यार्थी भोकै रहेको जानकारी गराउँदै नगरपालिकाले तत्काल ती विद्यार्थीलाई राहत उपलब्ध गराउन सकिन्छ भन्दा मेयर महर्जनले जवाफ दिए, ‘सकिन्न’ । उनले सरकारले उपलब्ध गराएको राहत सबै वितरण भइसकेकाले तत्काल केही गर्न नसकिने लाचारी देखाए । त्यसपछि उद्घोषकले नगर प्रमुख महर्जनसँगको सम्बाद टुटाए र भोकै रहेका विद्यार्थीका लागि राहतको अपील गरे । तत्कालै केही दाताले शुक्रबार बिहानै भोकै रहेका विद्यार्थीलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।
त्यसपछि सामाजिक सञ्जालमा नगरप्रमुख महर्जनको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिको खुलेरै आलोचना भयो । धेरैले उनलाई ‘केका लागि मेयर भएको’ भन्दै व्यङ्ग पनि गरे ।
शुक्रबार बिहान यस अनलाइनसँग कुरा गर्दा पनि नगरप्रमुख महर्जनले पुरानै कुरा दोहो¥याए, ‘राहतका लागि नेपाल सरकारले दिएको मापदण्डमा विद्यार्थी पर्दैनन् अनि कसरी सहयोग गर्नु ।’ उनको यो भनाइलाई हामीले कसरी बुझ्ने ? उनलाई एक जिम्मेवार जनप्रतिनिधि भन्ने कि गैरजिम्मेवार मेयरको ट्याग भिराउने ? अझ कीर्तिपुरवासीले त गर्व पनि गरे होलान्, ‘मेयर होस् त यस्तो’ भनेर । राहत आफ्नै सगोत्रीलाई नै बाँड्ने हो बाहिरिया मानिसलाई जेसुकै होस् । खान नपाएर बाहिरका मानिस मरे भने मरिरहुँन् । कीर्तिपुरका मानिसले खान पाएकै छन्, क्यारे ।
नगरप्रमुख महर्जन पनि भन्दै थिए, ‘नगरपालिकाका १० वटै वडामा गरी चार हजार एक सय २५ परिवारका करिव १६÷१७ हजार जनतालाई राहत वितरण गरिसकेका छौं । यी सबैलाई सरकारले दिएको मापदण्डका आधारमा रहेर मात्रै राहत उपलब्ध गराइएको हो ।’
नगरप्रमुख महर्जनकै कुरामा विश्वास गर्ने हो भने यतिका मानिसलाई चाहिँ कुन मापदण्डका आधारमा राहत वितरण गरियो ? विद्यार्थी मापदण्डमा नपर्ने, मजदूरहरुले उहिल्यै नगर छोडिसक्ने अनि राहत चाहिँ कसलाई वितरण गरियो ?
कीर्तिपुरमा कुनै ठूला उद्योगधन्दा र कलकारखाना छैनन् । उद्योगधन्दा र कलकारखाना नभएपछि मजदूरको संख्या पनि धेरै हुने कुरै भएन । अनि मेयरसाबले चार हजारभन्दा बढी परिवारलाई कसरी राहत बाँड्नु भयो ? क–कसलाई राहत बाँड्नु भयो ? कुरा स्पष्ट छ, राहतका नाममा यहाँका ‘लोकल’ घरबेटी र आफ्ना कार्यकर्ताको भकारी भर्ने काम मात्रै भएको छ । निमुखा, गरिव र सर्वहाराले राहत त पाएकै छैनन् ।
राहतका विषयमा कीर्तिपुरका मेयरसाब निकै आदर्शवादी पनि देखिए । ‘मापदण्डविपरीत’ केही पनि नगर्ने । सरकारले राहतको मापदण्डमा विद्यार्थीलाई राखेन । उनले राहत दिएनन् । उनले राहत वितरणका लागि आकस्मिक कोष स्थापना गरेका छन् । राष्ट्रिय बाणिज्य बैंकमा खोलिएको १७००३०४०३८३०३ नम्बरको आकस्मिक कोषमा लाखौं रुपैयाँ जम्मा पनि भइसकेको छ, त्यो पनि चलाएनन् । सायद आजभन्दा भोलि विकरात दिन आउँछ भनेर होला, मेयरसाबले चार सय विद्यार्थीको वास्ता नगरेको ।
हाम्रा मेयर कति आदर्शवादी र जनप्रिय छन् भन्ने कुरा चुनाव जित्नासाथ देखाइसकेका छन् । मेयर बनेको एक महिना नबित्दै भूमाफियाको चंगुलमा परेर सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणको पर्खाल भत्काएको विषय अहिले पनि सेलाएको छैन । कौडीको भाउको जग्गामा प्राधिकरणको पर्खाल भत्काएर बाटो पु¥याउँदा करोडौं मूल्य पर्ने र त्यसबापतको नजरानाले चुनाव खर्च उकास्ने मेयरसाबको चर्तिकलाको अहिले पनि चर्चा भइरहेकै छ ।
अर्को कुरा कीर्तिपुरका लोकलहरुको चुलो घरभाडाबाट बल्ने गरेको छ । त्रिभुवन विश्वविद्यालयमा अध्ययनका लागि विभिन्न जिल्लाबाट आएका विद्यार्थी भाडामा बसेकाले यहाँका लोकलहरुको चुलो बलिरहेको छ । त्यही विद्यार्थीले तिरेको भाडाबाट वषौंदेखि गुजारा चलाउनेहरुले त्यही विद्यार्थी भोकले छटपटाइरहेको कसरी हेरिरहेका छन् । सुन्दै आश्चर्य ! यही हो हाम्रो मानवीयता ? ‘जुम्राले त मान्छे मरेको तीन दिनसम्म शरीर छोड्दैन’ भने हामी चाहिँ किन यति निर्दययी बनिरहेका हौं । सोचनीय छ ।
Previous Article
अब सहकारीबाट जुनसुकै बैंकमा रकम ट्रान्फर गर्न सकिने
Next Article