पश्चिम बंगलाद्वारा मेची नाका सिल

काठमाडौं : नेपालको पूर्वी नाकाबाट आयात निर्यात ठप्प भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको गरेपछि आयात निर्यात ठप्प भएको हो ।
पश्चिम बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनश्चित कालका लागि कारोवार रोक्न निर्देशन दिएको जानकारी गराएको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार पश्चिम बंगाल भन्सार विभागका जोइन्ट कमिस्नर एसके मोहापात्रले अवस्था सामान्य नभएसम्म भारतबाट वस्तु निर्यात गर्न नसकिने जानकारी दिएका छन् । नाकामा आएर थन्किएका वस्तुलाई रि–रुट गरी अन्य नाकाबाट पठाउन मोहापात्रले भारतीय भन्सारका अधिकारीलाई निर्देशन समेत दिएको विश्वकर्माले बताए ।
भारततर्फको नाका बन्द भएपछि भारत, भुटान र बंगलादेशबाट नेपालमा हुने आयात ठप्प भएको उनले बताए । लकडाउनको समयमा सो नाका भएर ग्यासका बुलेट, तरकारी, फलफूलजस्ता वस्तुको आयात भएको थियो ।
केन्द्र सरकारको नीतिविपरीत राज्य सरकारबाट नाका बन्द गरिएपछि नेपालले कुटनीतिक पहल थालेको भन्सार विभागले जनाएको छ । परराष्ट्र र वाणिज्य मन्त्रालय हुँदै भारतीय दूावासलाई नाका बन्दबारे पत्रचार गरिएको स्रोतको दाबी छ ।
दिल्लीस्थीत नेपाली दूतावासबाट समेत पहल थालिएको मेची भन्सार प्रमु्ख विश्वकर्माले जानकारी दिए ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments