काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको व्यक्तिगत विवरण प्रकाशन र प्रशारण नगर्न सञ्चार माध्यमलाई अनुरोध गरेको छ।
नियमित पत्रकार सम्मेलनमा बोल्दै बुधबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले केही सञ्चार माध्यमले संक्रमितको व्यक्तिगत विवरण प्रकाशन र प्रशारण गरेकोप्रति ध्यानाकर्षण भएको भन्दै यस्तो अनुरोध गरेका हुन्।
‘सञ्चार मध्ययममा कोभिड–१९ का विरामीको व्यक्तिगत विवरण (नाम) प्रकाशित हुन आएकोमा मन्त्रालयको ध्यानाकर्षण भएको छ’, पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवकोटाले भने, ‘विरामीको यस्तो विवरण निजको अनुमति बिना प्रकाश र प्रशारण गर्न नपाइने भएकाले यसो नगर्नुहुन मन्त्रालय अनुरोध गर्दछ।’
प्रवक्ता देवकोटाले जनस्वास्थ्यको दृष्टिकोणबाट सार्वजनिक गर्नुपर्ने विवरण मन्त्रालयले आफैं सार्वजनिक गर्नेसमेत प्रष्ट पारेका छन्। ‘जनस्वास्थ्यको दृष्टिकोणबाट सार्वजनिक गर्नुपर्ने विवरण मन्त्रालयले आफ्नो लाइभ र अन्य माध्यमबाट प्रशारण गर्ने नै छ’, प्रवक्ता देवकोटाले भने।
अहिलेसम्म नेपालमा पीसीआर र आरडीटी विधिबाट १५ हजार ८ सयमा कोरोना परीक्षण भइसकेको छ। जसमध्ये १६ जनामा कोरोना पुष्टि भएको छ। एकजना निको भएर डिस्चार्ज भएका छन् भने अन्य १५ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।
संक्रमितमध्ये पाँचजनाको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइराखेको छ भने चारजनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइराखेको छ। अन्य ६ जनाको भने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु, पाटन अस्पताल, लगनखेल र धौलागिरी अस्पताल, बागलुङमा दुईदुई जनाको उपचार हुँदैछ।
पछिल्लो २४ घण्टामा दुई हजार ८९४ जनामा कोरोना परीक्षण भएको छ। अहिलेसम्म सबै प्रदेशका अधिकांश जिल्लामा र्यापिड किटबाट कोरोना परीक्षण सुरु भएको छ।