सरकारले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन थप एक साता ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता अर्थमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजिक गर्दै लकडाउन लम्ब्याउने निर्णय गरेको जानकारी दिएका हुन् ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ पुगेको छ । दिनदिनै संक्रमितको संख्या बढ्न थालेपछि लकडाउनको अवधि लम्ब्याइएको हो । अब चैत २५ गते राति १२ बजेसम्म नेपाल लकडाउनमा रहने छ । सरकारले अन्तर्राष्ट्रिय उडान भने बैशाख ३ गतेसम्म रोक्ने निर्णय गरिसकेको छ ।
यसअघि आइतबार नै बसेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कम्तीमा एक साता लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो । गत मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी गरिएको एक साता लामो लकडाउन सोमबार सकिँदैछ ।