काठमाडौं : कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र बानियाँले आफूले पाउने एक महिनाको सेवा सुविधा ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई प्रदान गर्ने भएका छन् । अहिले सिंगो मुलुक नै कोरोना भाइरसविरुद्धका रोकथाम तथा नियन्त्रण अभियानमा लागेकाले आफूले पाउने एक महिनाको सेवा सुविधा कोषलाई प्रदान गर्न लागेको बानियाँले बताए ।
कोरोना भाइरसको सङ्क्रमणलाई फैलन नदिन तथा रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैँक सिंहदरबार शाखाको खाता नम्बर १९६०००००११०१ मा कोष स्थापना गर्दै रकम जम्मा गर्न आग्रह गरेको छ ।
वडा अध्यक्ष बानियाँले कोरोना भाइरसविरुद्ध सचेतना अभियान सुरु गरी आफ्नै व्यक्तिगत खर्चमा वडामा माक्स, हात हुने साबुन वितरणसँगै सार्वजनिक यातायातमा किटनासक औषधि ‘स्प्रे’ गर्दै आएका छन् । गत शनिबारबाट सुरु गरेको अभियान निरन्तर रुपमा सञ्चालन गर्दै आएका छन् ।
उनले आफ्नो वडामा कोरोना भाइरस भित्रिन नदिन विभिन्न सावधानीका उपायहरु अवलम्वन गर्दै आएका छन् । स्यानिटाइजरको प्रयोग अथवा साबुन पानीले हात धुने, भीडभाडमा नजाने, घरमै बस्नेलगायत सचेतना कार्यक्रम सञ्चालन निरन्तर रुपमा सञ्चालन गर्दै आएका छन् । साथै आफ्नै ब्यक्तिगत खर्चमा माक्स, साबुनलगायतका सामग्री पनि वितरण गर्दै आएका छन् ।
यसका साथै विपत्को अवस्थामा कालोबजारी हुन सक्ने भएकाले बजार अनुगमनलाई पनि तीब्रताका साथ अगाडि बढाइरहेको वडा अध्यक्ष बानियाँले बताए ।