सहृदयी जनप्रतिनिधि : जसले आफ्नै बलबुतामा कोरोनाविरुद्ध अभियान चलाइरहेका छन्

काठमाडौं : अहिले कोरोना भाइरसले विश्वभरी महामारी फैलाइरहेको छ । चीनको वुहानबाट फैलिएको यो भाइरसले विश्वका थुप्रै मुलुकमा त्रास फैलाइरहेको छ । नेपालमा कोरोना भाइरसबाट अहिलेसम्म कोही पनि संक्रमित भएको पाइएको छैन । तर, विश्व स्वास्थ्य संगठनलगायतका अन्तर्राष्ट्रिय संघसंस्थाले नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन भनेपछि सरकारले काठमाडौंबाट बाहिरिने सार्वजनिक यातायात बन्द गर्नेदेखि अन्य विभिन्न निर्णय गरिसकेको छ ।


कोरोनाबाट कसरी सुरक्षित रहने र के–कसरी सावधानी अपनाउने भनेर विभिन्न संघसंस्था र निकायले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । कोरोना भाइरसविरुद्धको विश्वब्यापी सचेतना अभियानमा कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र बानियाँ पनि निरन्तर रुपमा लाग्दै आएका छन् ।
कीर्तिपुर नगर क्षेत्रमै अनुकरणीय व्यक्तित्वको पहिचान बनाएका बानियाँले आफ्नै निजी खर्चमा वडाबासीलाई कोरोना भाइरसका बारेमा सचेतना अभियान सञ्चालन गर्नुका साथै माक्स, हात हुने साबुनलगायत सामग्री पनि वितरण गर्दै आएका छन् ।
शनिबार पनि एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष बानियाँले आफ्नो वडाबासीलाई आफ्नै खर्चमा माक्स, साबुनलगायत सामग्री वितरण गरेका थिए ।


यसैगरी कीर्तिपुर–रत्नपार्क रुटमा सञ्चालन हुने बसहरुमा किटनासक औषधि छर्किएको थियो । वडा अध्यक्ष बानियाँ आफैले बसहरुमा ‘स्प्रे’ गरेका थिए । यस्तै बसका चालक र सहचालकका लागि माक्स, हात धुने साबुन र स्यानिटाइजर उपलब्ध गराएका थिए । बानियाँले बसमा अनावश्यक भीडभाड नगरी सिटमा मात्रै बस्ने गरी यात्रु ओसारपसार गर्न आग्रह गरेका थिए । उनले बसमा छर्किनका लागि हरेक दिन किटनासक औषधि उपलब्ध गराउने प्रतिवद्धता पनि जनाए ।
उनले विश्वब्यापी आतंकका रुपमा फैलिएको कोरोना भाइरसबाट सुरक्षित रहन सबै जना एकजुट भएर अगाडि बढे मात्र यसको संक्रमणबाट बच्न सकिने बताए । उनले कोरोना भाइरसविरुद्धको अभियानमा जनप्रतिनिधिका रुपमा दिनरात खटिने प्रतिवद्धता पनि व्यक्त गरे ।
बाघभैरव यातायात प्रालिका सचिव दिवाकर अधिकारीले कीर्तिपुर नगरपालिकामध्ये ४ नम्बर वडाले सराहनीय कामको सुरुवात गरेकोमा धन्यवाद दिए । उनले यस रुटमा सञ्चालन हुने बसमा कोरोनाविरुद्ध सावधानी अपनाउने प्रतिवद्धता जनाए ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments