काठमाडौं : बहुचर्चित निर्भया सामूहिक बलात्कार काण्डका चार दोषीलाई शुक्रबार बिहानै मृत्युदण्ड दिइएको छ ।
सामूहिक बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाइ दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान ५ः३० बजे मृत्युदण्ड दिइएको हो ।
यसअघि अदालतले गरेको फाँसीको फैसलाविरुद्ध एक अभियुक्तले त्यहाँको सर्वोच्च अदालतमा अपिल गरेका थिए । सर्वोच्चले आममाफी दिन नसकिने फैसला गरेसँगै चारै जनालाई मृत्युदण्ड दिइएको हो ।
निर्भया, पीडितको वास्तविक नाम गोप्य राख्न जुराएको नाम हो । निर्भयामाथि राम सिंहले चलाइरहेको बसमा १६ डिसेम्बर २०१२ राति सामूहिक बलात्कार भएको थियो । राम सिंहले २०१३ मा तिहाड जेलमा आत्महत्या गरेका थिए । अदालतले दोषी ठहर गरेकामध्ये एक जनालाई अपराध भएका बेला उमेर नपुगेको भन्दै सुधार गृहमा पठाइएको थियो ।
६ जनाको आक्रमणमा परेकी निर्भयाको २९ डिसेम्बर २०१२ मा उपचारको क्रममा सिंगापुरमा ज्यान गएको थियो । मेडिकल साइन्स पढिरहेकी निर्भयामाथिको अमानवीय घटनापछि भारतमा चर्को विरोध भएको थियो ।
त्यसपछि सन् २०१३ मा बलात्कार जस्तो अपराधमा मृत्यदण्डको सजायको व्यवस्था गरिएको थियो । २०१३ मै घटनाका ६ आरोपीलाई अदालतले दोषी ठहर गरेको थियो । २०१४ मा दिल्ली उच्च अदालत र २०१७ मा सर्वोच्च अदालतले पनि मृत्युदण्डको सजायलाई निरन्तरता दिने फैसला गरेको थियो ।
Previous Article
चिडियाखाना पनि बन्द
Next Article