नेपाल ओलम्पिक कमिटी (एनओसी) ले टोकियो ओलम्पिकमा नेपालबाट नौ खेलमा १५ जना खेलाडीलाई वाइल्ड कार्डका लागि प्रस्ताव गरेको छ। वाइल्ड कार्डमार्फत दुई खेलमा तीन जना खेलाडीको सहभागिता भने पक्का भइसकेको छ। यसपटक पौडीमा दुई जना र एथलेटिक्समा एक जनाको सहभागिता पक्का भएको हो।
पौडीको महिलामा गौरिका सिंह र पुरुषमा एलेक्स शाहले प्रतिस्पर्धा गर्नेछन्। एथलेटिक्समा यसपटक म्याराथनमा सहभागिता जनाउने एनओसीको तयारी छ। त्यसबाहेक वाइल्ड कार्डका लागि आईओसीमा कराँते, आर्चरी, तेक्वान्दो, सुटिङ, भारोत्तोलन, पौडी र जुडोका १२ जना खेलाडीको नाम पठाइएको एनओसीले जनाएको छ।
ओलम्पिक छनोटका लागि नेपालका दुई जना बक्सिङ खेलाडीले हालै जोर्डनमा भएको एसिया÷ओसियाना क्षेत्रको छनोट खेलमा भाग लिएका थिए। पुरुष ६३ केजीमा सनिल शाही र महिला ५७ केजीमा मीनु गुरुङले भाग लिए पनि छनोट हुन सकेनन्। यी दुवै खेलाडी १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन्।