काठमाडौं ः एसीसी इस्टर्न रिजन टीट्वेन्टी कप क्रिकेटमा नेपाल मलेसियासँग पराजित भएको छ । थाइल्यान्डमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको हो ।
मलेसियाले दिएको एक सय ५५ रनको विजय लक्ष्य पछ्याएको नेपाल १९.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३२ रनमा समेटिएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले समान ३८÷३८ रन बनाए । पवन सर्राफले १९ र पारस खड्काले नौ रन बनाए । पछिल्ला क्रमका ब्याट्सम्यानसमेत चल्न नसक्दा नेपालले नसोचेको हार खेपेको थियो । मलेसियाका सार्भिन मुनिन्डेले चार विकेट लिए । खिजार हायत, पवनदीप जगजित सिंह र इजाद इद्रुसले दुई दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५४ रन बनाएको थियो । मलेसियाका लागि सयद अजिज सयद मुबारकले अविजित ५१ रन बनाए । अनवर अरुद्दिनले ३१, मोहमद नुरले ३० र अमिनुदुन राम्लेले २९ रन बनाए । नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । सन्दीपले मलेसियाविरुद्धको खेलमा व्यक्तिगत एक सय दुई विकेट पनि पूरा गरेका छन् । अविनाश बोहराले दुई र करण केसी एक विकेट लिए । नेपालले आइतबार हङकङसँग खेल्नेछ ।
Previous Article
कफी कालो भएपछि किसान चिन्तित
Next Article