काठमाडौं : नेकपा विप्लप निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले बुधवार देशव्यापी रुपमा शैक्षिक हड्तालको घोषणा गरेपछि लाखौं विद्यार्थी पढ्नबाट बञ्चित भएका छन् ।
क्रान्तिकारीले एक विज्ञप्ति जारी गर्दै नीजि, तथा सामुदायिक सार्वजनिक विद्यालयलगायतका शैक्षिक संस्था बुधबार सञ्चालन नगरी आफ्नो आन्दोलनलाई सहयोग गर्न अपिल गरेको छ । क्रान्तिकारीले आफूले सञ्चालन गरेको शैक्षिक हड्ताललाई असहयोग गर्ने शैक्षिक संस्थाप्रति कडा रुपमा प्रस्तुत हुने चेतावनी पनि दिएको छ ।
तत्कालनी सञ्चारमन्त्री गोकुल बाँस्कोटा प्रकरण , एमसीसी सम्झौता , चर्को मूल्यवृद्धि, भ्रष्टाचारलगायतका विषयमा विरोध जनाउने क्रममा आफ्ना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरी झुटो मुद्दा लगाएको भन्दै क्रान्तिकारीले शैक्षिक हड्तालको आह्वान गरेको हो ।
क्रान्तिकारीले आफ्ना नेता तथा कार्यकर्तालाई गैहन्यायिक तरिकाले अपहरण शैलीमा गिरफ्तार गरी झुटा मुद्दा लगाएको भन्दै त्यसको विरुद्धमा फागुन १४ गते देशव्यापी रुपमा शैक्षिक हड्तालको घोषणा गरिएको जनाइएको छ ।
सरकारलाई दबाब दिन भन्दै घोषणा गरिएका विद्यार्थी संगठनका शैक्षिक हड्तालले भने पढ्ने पाउने लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको छ । वार्षिक परीक्षा नजिकै आइरहेका बेला भएको शैक्षिक हड्तालले विद्यार्थीहरु मारमा परेका छन् ।