नयाँ दिल्ली : भारतको राजधानी दिल्ली विधानसभा निर्वाचनमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले अत्यधिक बहुमत हासिल गरेको छ । ७० सिटका लागि भएको निर्वाचनमा आम आदमीले ६२ सिट जित्दै ऐतिहासिक सफलता हात पारेको हो । यो ८८.५७ प्रतिशत हो । चुनावमा सत्ताधारी दल भारतीय जनता पार्टी भने ८ सिटमा सीमित भएको छ । चुनावमा दिल्लीमा १५ वर्ष लगातार शासन गरेको भारतीय कंग्रेसले भने एक सिट पनि जित्न सकेन ।
आम आदमी पार्टीले हासिल गरेको मत परिणामले भारतमा नयाँ राजनीतिलाई जन्म दिएको केजरीवालले बताए । ‘दिल्लीका जनताले निर्वाचनमा जसले स्कुल बनाउँछ, क्लिनिक बनाउँछ, २४ घण्टा बिजुली सस्तोमा दिन्छ, त्यसलाई भोट दिन्छन् भन्ने सन्देश विधानसभा चुनावबाट दिएका छन्’, उनले भने ।
केजरीवालले कामका आधारमा राजनीति गरेको उल्लेख गर्दै आगामी पाँच वर्ष दिल्लीका दुई करोड जनतासँग मिलेर काम गर्ने शक्ति हनुमानजीले प्रदान गरून् भन्दै मतदातालाई धन्यवाद दिए । ‘दिल्लीका जनताले तेस्रोपटक पनि आफ्ना छोरालाई जिताएका छन् । यो जित ती सम्पूर्ण परिवारको जित हो, जसले मलाई आफ्नो छोरा मानेर जबरदस्त समर्थन गर्नुभयो’, उनले भने ।
यता सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) लाई भने विधानसभा चुनावले धक्का दिएको छ । सुषमा स्वराज नेतृत्वको सरकारले सन् १९९८ मा चुनाव हारेयता भाजपाले दिल्लीमा नेतृत्व गर्न पाएको छैन । दिल्लीमा भाजपाको रणनीति सफल हुन सकेन । पछिल्लो समयको नागरिकता संशोधन कानुन (सीएए) का कारण निर्वाचनमा भाजपालाई धक्का लागेको हो । सीएएको विरोधमा दिल्लीको साहिन वागमा भइरहेको विरोध प्रदर्शनको मुद्दा पनि भाजपाका लागि प्रत्युत्पादक साबित भयो । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको आक्रामक प्रचार अभियान र हिन्दुत्वको राजनीति प्रभाव विधानसभा निर्वाचनमा देखिएन ।
कंग्रेसको भने कतिपय स्थानमा जमानत जफत भएको छ । पूर्वमुख्यमन्त्री शिला दीक्षितको असामयिक निधनले कंग्रेसमा नेतृत्वको संकट निम्त्याएको देखिएको छ । लगातार तीन कार्यकाल शासन गरेको दीक्षित नेतृत्वको सरकारलाई सन् २०१३ मा आपले विस्थापित गरेपछि कंग्रेस थला परेको थियो । त्यसपछि सन् २०१५ मा भएको निर्वाचनमा शून्यमा झरेको कंग्रेसले यस पटक पनि सफलता हासिल गर्न सकेन ।
दिल्लीका जनताले कामको राजनीतिलाई समर्थन गरेर अन्य राज्यलाई पनि दृष्टान्त दिएको विश्लेषण भारतीय सञ्चार माध्यमले गरेका छन् । आम आदमीले आगामी पाँच वर्षमा गर्ने कामको १० बुँदे फेहरिस्त जारी गर्दै अघिल्ला वर्षको कामको आधारमा भोट मागेको थियो ।
प्रधानमन्त्री मोदीले केजरीवाललाई बधाई दिँदै दिल्लीका जनताको आकांक्षाअनुसार काम गर्न सकून् भन्दै ट्विटमार्फत शुभकामना दिएका छन् ।
दिल्लीमा गत शनिबार मतदान भएको थियो । मतदानको करिब २४ घण्टापछि चुनाव आयोगले आइतबार मतदानको आँकडा सार्वजनिक गरेको थियो । आम आदमीले चुनाव आयोगको यो ढिलाइमा प्रश्न पनि उठाएको थियो ।
दिल्ली निर्वाचन आयोगका अनुसार गत विधानसभाको चुनावको तुलनामा यस पटकको चुनावमा तीन लाख ७५ हजार मतदाता थपिएका थिए । दिल्लीमा कुल मतदाता संख्या एक करोड ४६ लाख ९२ हजार १३६ छन्
Previous Article