काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाग्रही भएको दाबी गर्दै नेपाली कांग्रेसले लगातार संसद अवरुद्ध गरिहँदा भ्रातृ संगठनहरूले अख्तियारकै प्रमुख आयुक्तलाई कारबाही गर्नुपर्ने चेतावनी दिएका छन् ।
कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध पूर्वाग्रही ढंगले विशेष अदालतमा मुद्दा दायर गरिएको भन्दै सरकारविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका कांग्रेसका भ्रातृ संगठनले अख्तियारकै कार्यालय प्रवेश गरेर प्रमुख आयुक्त र आयुक्तलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।
सोमबार आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कांग्रेसप्रति पूर्वाग्रह राखेर अख्तियार बालुवाटारको निर्देशनमा एकलब्य भएर लागेको आरोप लगाए ।
अध्यक्ष बस्नेतले आफूहरू पार्टी उपसभापति विजयकुमार गच्छदार जोगाउन सडकमा नआएको दोहो¥याउँदै अख्तियारले दुराशय राखेर कांग्रेसका नेताविरुद्ध मुद्दा दायर गरेको दाबी गरे ।
उनले अख्तियारले भ्रष्टाचारका मतियारलाई नभएर दुराशय राखेर कारबाही गरिरहेको बताए । साँच्चिकै कारवाही गर्ने भए माधव नेपाल र विष्णु पौडेललाई पनि हुनुपर्ने जिकिर उनले गरे ।
तरुण दलका अध्यक्ष बस्नेतले कांग्रेसका भ्रातृ संगठनले सुरु गरेको सडक आन्दोलनमा सरकारले हस्तक्षेप गरे मानवसागर ओरालेर लड्न तयार रहेकोसमेत चेतावनी दिए ।
नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले कानुन र अख्तियारको विरोधमा नभएको स्पष्ट पार्दै विभेदका विरुद्ध सडक संघर्षमा होमिनु परेको जिकिर गरे । उनले सरकार र अख्तियारलाई झुकाएरै छाड्ने दाबीसमेत गरे ।
कांग्रेसका भ्रातृ संगठनहरू सोमबार नेपाल तरुण दलको संयोजनमा सरकारविरुद्ध प्रदर्शनमा उभिने भएका थिए ।