काठमाडौं : ललितानिवासको सरकारी जग्गा हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुधबार मुद्दा दायार गरेको छ। अनुसन्धान पुरा भएकोले बुधबार नै अख्तियारको टोली अदालत पुगेर अभियोगपत्र दर्ता गरेको हो। मुद्दा दर्ताको तयारीका लागि बिहानदेखि प्रमुख आयुक्त नवीन घिमिरेको अध्यक्षतामा आयोगको बैठक बसेको थियो।
सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरेको अभियोगमा अख्तियारले मुद्दा दायार गरेको हो। तत्कालीन मन्त्री, सचिव, संलग्न कर्मचारीसहित १७५ जनाविरुद्ध मुद्दा दायर भएको हो । अख्तियारले छानबिनको क्रममा डेढ सयभन्दा बढी व्यक्तिसँग बयान लिएको थियो।
सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरिएको निश्कर्षसहितको छानबिन प्रतिवेदन एक सरकारी समितिले दिएपछि यसबारेमा थप अनुसन्धान गर्न सरकारले संवैधानिक आयोग र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई निर्देशन दिएको थियो।
सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा पञ्चायतकालमा जफत भएको भन्ने अर्थ लगाई सुवर्णशमशेरका सन्तानले २०४९ मा फिर्ता लगेका थिए। भूमाफियाको चलखेलमा २०६२, २०६७ र २०६९ सालमा गरी चार पटक ललिता निवासको जग्गा अतिक्रमण भई व्यक्तिका नाममा दर्ता भएको थियो।प्रधानमन्त्री निवास विस्तारका नाममा २०६६ चैत २९ र २०६७ वैशाख ३१ गतेको मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा डिल्लीबजार मालपोत कार्यालयले सार्वजनिक, पर्ती र राजकुलोको जग्गासमेत व्यक्तिका नाममा दर्ता गर्ने निर्णय गरेको थियो।
अख्तियारले मुद्दा दायार गर्ने सूचीमा तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार,अख्तियारका पूर्वप्रमुखआयुक्त एवं तत्कालीन भौतिक पूर्वाधारसचिव दिपकुमार बन्स्यात, तत्कालीन भूमिसुधार मन्त्रीहरु डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, तत्कालीन सचिव छवि पन्तलगायतका उच्च अधिकारी र कर्मचारी रहेका छन्।
सीआईबीको प्रतिवेदनमा बालुवाटारको २ सय ९९ रोपनी जग्गामध्ये १ सय १४ रोपनी जग्गा हिनामिना भएको उल्लेख छ। सीआइबी प्रतिवेदनमा २०४७ सालमा कृष्णप्रसाद भट्टराईको सरकारले गरेको निर्णय र पछि डा. बाबुराम भट्टराई र माधव नेपालको सरकारको निर्णयमा पनि बदमासी नदेखिएको उल्लेख गरेको छ। तर त्यो निर्णयलाई गलत अर्थ लगाइ कर्मचारीले भूमाफियासँगको डिजाइनमा हिनामिना गरेको छानबिनबाट देखिएको छ।
वर्तमान केपी ओली नेतृत्वको सरकारले गठन गरेको त्रिताल आयोगले बालुवाटार जग्गामा भएको हिनामिना सहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। त्रिताल प्रतिवेदनअनुसार प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवासको जग्गासमेत व्यक्तिको नाम गरिएको छ। ललिता निवासमा प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायतको निवास तथा राष्ट्र बैंकले १२० रोपनी जग्गा चर्चेको छ भने समरजंग कम्पनीको नाममा २१३ रोपनी जग्गा छ।