चीनसँगको सीमावर्ती जिल्लामा खाद्यान्न संकट

ताप्लेजुङ : चीनले किमाथांका र ओलाङचुङगोला नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट सुरु भएको छ । चिनियाँ बजारमा आश्रित संखुवासभा भोटखोला गाउँपालिकास्थित किमाथांकामा दैनिक उपभोग्य वस्तु अभाव देखिएको छ । दुई दिनभित्र वैकल्पिक व्यवस्था नभए गाउँमा खाद्यान्नको हाहाकारै हुने वडाध्यक्ष तेन्छेवी शेर्पा जानकारी दिए ।

पछिल्लो समय विकराल बन्दै गएको कोरोना भाइरसको कारण देखाउँदै चीनले नाका ठप्प पारेको छ । समयमै पहल नथाल्ने हो भने त्यहाँका १ सय २० घरका स्थानीय भोकभोकै बस्नुपर्ने अवस्था आउने वडा अध्यक्ष शेर्पाले बताए । गाउँमा चामल, नुन र तेल सबै अभाव भइसकेको छ ।
किमाथांका र चीनको चाँगा बजार बीचमा पर्ने कामु खोला पुलमा रहेको गेटमा ताला लगाएर चिनियाँ सुरक्षाकर्मी बसेका छन् । उनीहरुले खाद्यान्न खरिदका लागि खोलिदिन आग्रह गर्दा पनि अस्वीकार आनाकानी गर्दै आएका छन् ।

किमाथांका जिल्ला सदरमुकाम खाँदबारीबाट ३० कोस टाढा पर्छ । स्थानीयवासी दैनिक उपभोग्य वस्तुका लागि तिब्बतको चाँगा बजारमा निर्भर छन् । सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट, प्रहरी चौकी, स्वास्थ्य चौकीलगायत कार्यालयका कर्मचारीलाई पनि समस्या भएको छ । नाकासँगै चीनले चाँगा, रिउ, ल्हासालगायत बजार पसलसमेत बन्द गरेको छ । त्यहाँका चिनियाँ नागरिकलाई नै हिँडडुलमा रोक लगाइएको छ ।
भोटखोलासम्म सडक पुगेको छ । त्यहाँसम्म ट्र्याक्टरबाट ढुवानी गर्न सकिने भए पनि त्यसभन्दा माथि लैजान सक्ने अवस्था छैन । बीचको अग्लो पहाडमा हिमपात हुने भएकाले मंसिरदेखि वैशाखसम्म आवतजावत ठप्प हुन्छ ।

२ हजार २ सय ४८ मिटर उचाइमा रहेको किमाथांकामा कोदो र मकैबाहेक खाद्यान्न उत्पादन हुँदैन । अधिकांश स्थानीय चिनियाँ बजारमा मजदुरी गरेरै पेट पाल्छन् । नाका खुला रहँदा दैनिक ५०–६० जना नियमित काम गर्न पारि जाने गरेको भए पनि सीमा नाका बन्द भएपछि स्थानीयले राजगारी पाएका छैनन् ।

गाउँ पालिकाले भने प्रत्येक घरलाई एक महिनासम्म पुग्ने खाद्यान्न ढुवानीमा पहल गर्ने निर्णय गरेको छ ।
ताप्लेजुङकै ओलाङचुङगोला नाका पनि बन्द छ । ओलाङलुङगोलामा नेपालतर्फ सडक खन्न आएका आफ्ना नागरिक फर्किएपछि चीनबाट अनिश्चितकालसम्म नाका बन्द गरेको चीनले जनाएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments