काठमाडौं : मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा विभागीय टोली एपीएफ क्लबलाई २–१ गोलले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।
मछिन्द्रको जितमा विशाल राई र रञ्जित धिमालले एक÷एक गोल गरे । एपीएफका रमेश दंगालले एक गोल गरेका थिए ।
खेलमा सुरुवाती अग्रता उल्टाएर मछिन्द्रले जित निकालको हो । रोमान्चक बनेको खेलको ४३ औं मिनेटमा रमेशको गोलबाट एपीएफले अग्रता बनाएको थियो । राजीव लोप्चनलाई पिटर सेगुनले लडाएपछि पाएको फ्रिकिकमा रमेशले हेड गोल गरेका थिए । नवीन लामाको फ्रिकिकलाई रमेशले पोस्टको दिशा दिएका थिए ।
दोस्रो हाफमा भने मछिन्द्र खेलमा फर्कियो । खेलको ४८ औं मिनेटमा विशालले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । रञ्जित धिमालको कर्नरमा विशालले सुन्दर गोल गरेका थिए ।
त्यसपछि खेलको ८० औं मिनेटमा मछिन्द्रले पेनाल्टी प्राप्त ग¥यो । डिफेन्डर पिटर सेगुनलाई एपीएफका खेलाडीले डिबक्सभित्र फल गरेपछि रेफ्री मछिन्द्रलाई पेनाल्टी दिएका थिए । त्यसमा रञ्जितले गोल गरे । जुन गोल मछिन्द्रको जितमा निर्णायक बन्यो । खेलमा मछिन्द्रका देवेन्द्र तामाङ म्यान अफ दी म्याच चुनिए ।
जितसँगै मछिन्द्रले १० खेलबाट २२ अंक जोडेको छ । मछिन्द्र दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबभन्दा दुई अंकले अगाडि छ । ९ खेल खेलेको आर्मीको २० अंक छ । एपीएफले १० खेलबाट ५ अंक जोडेको छ ।
थ्रीस्टारको फराकिलो जित
यसैगरी थ्री स्टार क्लबले सरस्वती युथ क्लबविरुद्ध शानदार जित निकालेको छ । शनिबार भएको खेलमा थ्रीस्टारले रेलिगेशन क्षेत्रको सरस्वतीलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । थ्री स्टारको जितमा सन्जोग राईले ह्याट्रिक गरे । यस्तै एक गोल लाल राम्मभाले एक गरे ।
भारतीय खेलाडी लाल राम्मव्राले खेलको ४९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा सन्जोगले गोल गर्दै थ्री स्टारलाई २–० को अग्रता दिलाए । खेलको ६० औं मिनेटमा सन्जोगले व्यक्तिगत दोस्रो गोल गर्दा थ्रीस्टार ३–० ले अघि रह्यो । त्यसपछि खेलको ७१ औं मिनेटमा गोल गर्दै सन्जोगले ह्याट्रिक पूरा गरे । सन्जोग जारी लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।
जितसँगै थ्रीस्टार लिगको चौथो स्थानमा उक्लिएको छ । थ्रीस्टारले १० खेलबाट १७ अंक जोडेको छ । पुछारको सरस्वतीले १० खेलबाट ४ अंक बनाएको छ ।